जर्मन च्याम्पियन बार्यन म्यूनिखको नयाँ प्रशिक्षकमा क्रोएशियाली निको कोभाक अनुबन्ध भएका छन् । नयाँ सिजनसँगै उनले वर्तमान प्रशिक्षक जुप हेनेक्सलाई प्रतिस्थापन गर्नेछन् ।

बार्यनका अनुसार कोभाकसँग उसले ३ वर्षको सम्झौता गरेको छ । कोभाक फ्र्यांकफर्टबाट बार्यन गएका हुन् । सिजनको प्रमुख तीन उपाधिको खोजीमा रहेको बार्यनले हेन्क्सलाई नै निरन्तरता दिन चाहेको थियो । उनले गएको अक्टोवरमै सिजनको अन्त्यपछि सन्यासको घोषणा गरेका थिए । ७२ वर्षीय उनले क्लबसँग नयाँ सम्झौता गर्न चाहेनन् ।

‘निको कोभाकले जुलार्इ १, २०१८ देखि बार्यनको प्रशिक्षण संहाल्नेछन्,’ क्लबका खेलकुद निर्देशक हसन सालिहामिजिकले भने, ‘हामीले हिजो मात्रै ३ वर्षको सम्झौता गरेका छौं ।’

४६ वर्षीय कोभाकले खेलाडी छँदा लामो समयसम्म बुण्डेसलिगा खेलेका थिए । उनले सन् २००१ देखि ००३ सम्म बार्यनबाट पनि खेलेका थिए । समाचारहरुमा जनाइएअनुसार उनले बार्यनसँग २.५ मिलियन डलरको सम्झौता गरेका छन् ।