विराटनगर/ विराटनगर महानगरपालिकामा जारी विकास निर्माणको काम गुणस्तरहिन भएको भन्दै नगरवासीले असन्तुष्टि व्यक्त गरेका छन् ।
सरोकारवाला निकायले चुस्तरुपले निगरानी र अनुगमन नगर्दा गुणस्तरहीन काम भइरहेको नगरवासीको गुनासो छ ।
विराटनगरको ५ पृथ्वीचोकमा निर्माण गरेको महिना दिन पनि नपुग्दै ढलको नाला भत्किसकेको छ । निर्माणस्थलमा निर्माण पक्ष र अनुगमनकर्ता पक्षका जिम्मेबार ब्यक्ति तथा प्राबिधिकहरुको उपस्थिति नरहने गरेकोले नाला निर्माणको काम गुणस्तरहिन भएको पाइएको छ ।
आफूहरुले निगरानी गर्ने क्रममा कमसल र गुणस्तरहीन काम नगर्न दबाब दिँदा पनि निर्माण पक्षले जथाभावी नाला निर्माण गरेको स्थानीयको गुनासो छ । बालुवा बढि र सिमेन्ट कम प्रयोग गरिएकै कारण नाला लडेको स्थानीय डिकबहादुर अधिकारीले बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले भने सो क्षेत्रको नाला हाल निर्माणकै क्रममा रहेको र हस्तान्तरण भइनसकेकाले भास्सिएको नाला निर्माण गर्न लगाइने बताए । गुणस्तरहीन निर्माण काम नहोस् भन्ने बिषयमा महानगरले नियमित अनुगमन गर्ने गरेको उनले दावी गरे ।
नगरक्षेत्रमा विभिन्न परियोजना र ठेकेदारमार्फत जारी विकास निर्माणमा कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गर्ने गरिएको घटना पटक–पटक सार्वजनिक हुने गरेको छ । नगरक्षेत्रको कयौं ठाउँमा निर्माण गरिएको सडक र नालाहरु निर्माण सम्पन्न हुनु अगावै भत्किने र धस्ने समस्याहरु देखिएको छ ।
अस्तब्यस्तरुपमा विराटनगरमा जारी विकास निर्माणको कारण विराटनगरबासीले दुई वर्षयता सास्ती खेप्दै आएका छन् ।