पानवारी/ १८ नं. वडा समिति धरान तथा अप्सरा ड्राइभिङ सेन्टरको सहकार्यमा सञ्चालित निःशुल्क ड्राइभिङ तालिम सोमबार सम्पन्न भएको छ ।

१८ नं. वडा समितिको युवा लक्षित कार्यक्रम अन्तर्गत वडाका २० जना युवा युवतीलाई ड्राइभिङको तालिम दिइएको वडाध्यक्ष प्रविण राईले बताए । राईका अनुसार ९ महिला र ११ पुरुष गरी जम्मा २० जनाले ड्राइभिङको तालिम लिएका छन् । सोमबार भएको समापन कार्यक्रमका विशेष अतिथि धरान उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत गणेशप्रसाद खतिवडाले स्थानीय तहको निर्वाचन पछि यस्ता कार्यक्रमहरु वडा वडामा सञ्चालन हुदा सेवाग्राहीलाई सहज भएको बताएका थिए । कार्यक्रमको अध्यक्षता अप्सरा ड्राइभिङ सेन्टरका सञ्चालक दिपेन्द्र सिटौलाले गरेका थिए भने प्रमुख अतिथी १८ नं. वडाका कार्यावहाक वडाध्यक्ष टंकप्रसाद गुरुङ रहेका थिए ।