पाँचथर/ प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबो मौसमले प्रदेश सरकारले ल्याएको बजेट सिंगो प्रदेशको समृद्धिका लागि कोशेढुंगा साबित हुने बताएका छन् । प्रदेश सरकाले २९ चैत २०७४ मा चालु आर्थिक बर्षको बाँकि अवधीको बजेट ल्याएको थियो ।
बजेटमा प्रदेश–१ लाई समृद्ध बनाउँने कार्यक्रम समावेश गरिएको दाबि गर्दै मन्त्री आङबोले सोही बजेटको जगमा टेकेर पाँच बर्ष भित्रमा प्रदेश–१ लाई नमुना बनाउँने बताए । गृहजिल्ला पाँचथरमा सोमबार पत्रकारहरु सँग कुराकानी गर्दै मन्त्री आङबोले लगानीमैत्री वातावरण, भौतिक पूर्वाधार बिकास र युवाहरुलाई उत्पादन र उद्यमसँग जोडेर स्वरोजगार बनाउँने कार्यक्रम बजेटमा समेटिएको उल्लेख गरे ।
प्रदेशसभाले अहिले कानुन बनाउँने कामलाई तिब्रता दिएको भन्दै मन्त्री आङबोले संविधानमा उल्लेखित प्रदेशले पाएका सम्पूर्ण अधिकार चाँडै हस्तान्तरण गर्न संघीय सरकारलाई आग्रह गरे । संघीय सरकारले नै सबै अधिकार हडपेर बसे असलमा संघीयताको कार्यान्वयन नहुने र त्यो भएमा प्रदेश सरकारले आफ्नै संयन्त्र निर्माण गरेर अघि बढ्ने समेत उनको भनाई थियो ।
माओवादी केन्द्रका स्थाई समिति सदस्य समेत रहेका मन्त्री आङबोले एकताबाट पछि हट्ने छुट कसैलाई नभएको भन्दै समानताको आधारमा पार्टी एकता हुने जिकिर गरे । मन्त्री भएपछि पहिलोपल्ट गृह जिल्लाका सरकारी कार्यालयहरुको निरिक्षण गर्न आङ्बो सोमबार पाँचथर आएका हुन् ।