पानवारी/धरानका अशक्त मजदुर पुण्यप्रसाद प्याकुरेल नयाँ घर प्रवेश गरेका छन् ।

[caption id="attachment_80642" align="aligncenter" width="4096"] अशक्त प्याकुरेललाई घर प्रवेश गराउदै यातायात मजदुरहरु ।[/caption]

धरानका मजदुर तथा पत्रकारहरुको अगुवाईमा निर्माण भएको घरमा प्याकुरेल सोमबार सरेका छन् । प्याकुरेल २०७२ साल असार १५ गते धरान–१५ मा सवारी दुर्घटनामा परी स्पाइनलकर्ड इन्जुरी भई अशक्त छन् । उनको कम्मर भन्दा मुनिको शरीरको कुनैपनि अंग चल्दैन । अशक्त मजदुरका श्रीमती सहित एक छोरी र एक छोरा छन् ।

घरमूलीको रुपमा रहेका प्याकुरेल दुर्घटनामा परेर थला परेपछि उनकै स्वाहार सुसारमा श्रीमतीको दिन वित्ने गरेको साथै उनका कलिला छोरा छोरी समेत स्कुल जानबाट बञ्चित हुने स्थिति भएपछि धरानमा रहेका यातायात मजदुर तथा पत्रकारहरुको टीमले उनको घर बनाउन अभियान थालेका हुन् ।

गतवर्षको तिहारमा यातयात मजदुरहरु भीम ज्वाला राई, कमल भट्टराई, लक्ष्मी बानिया साथै पत्रकारहरु विकास चाम्लिङ राई, जनकऋषी राई लगायतको टोलीले देउसी खेली संकलन भएको रकमलाई विउ पूजीको रुपमा राखेर अन्य दाताहरुसँग समेत सहयोग मागी घर निर्माण सम्पन्न गरेका हुन् ।

सोमबार विहान नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय भीम राई ज्वालाको प्रमुख आतिथ्यतामा प्याकुरेललाई घर प्रवेश गराइएको हो । गृह प्रवेश कार्यक्रममा नेकपा एमाले धरान कार्यवाहक अध्यक्ष नारायणप्रसाद सुवेदी, धरान–१५ का वडाध्यक्ष नरेश इवारम, सुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिरीधारी सापकोटा, मजदुर नेताहरु लक्ष्मी वानियाँ, कमल भट्टराई, रविन गिरी, गोविन्द गिरी लगायतको सामुहिक उपस्थितीम प्याकुरेललाई घर प्रवेश गराइएको घर निर्माण समितिका सदस्य सचिव विकास चाम्लिङ राईले बताए ।

घर प्रवेश कार्यक्रममा भीम राई ज्वालाले सानै काम भएपनि त्यसले दुरगामी असर पुर्याउने भएकाले पुण्यको घर वनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै पत्रकारहरुले देउसी खलेर संकलित रकमबाट घर निर्माण गर्न सफल भएकोमा बधाई दिएका थिए । सुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिरीधारी सापकोटाले पत्रकार र मजदुरले गरेको काम प्रशंसनिय रहेको बताए । नयाँ घर प्रवेश गरेपछि प्याकुरेलले भने ‘कोठाभित्रको जिन्दगीबाट महलको जीन्दगीमा बस्ने रहर पुरा भएको’ भन्दै ‘मेरा लागि जीवन नै यही हो, म बाँच्दिन थिए होला तर घर बनेको हौसलाले अब दीर्घ जीवन जीउने भए, मेरा लागि परिवारको जीन्दगी सुखी भयो ।’

घर निर्माण समितीका संयोजक कमल भटटराईले आय व्यय समेत सार्वजनिक गरे । नगद र जिन्सी गरेर जम्मा ६ लाख ७४ हजार २ सय ५० रुपैयाँ संकलन भएको जनाइएको छ । अझै बचन दिइएकाहरुमध्येबाट २५ हजार सहयोग संकलन हुन बाँकी छ । प्याकुरेल यस अघि भाडामा बस्दै आएका थिए भने उनको आफ्नै जग्गामा घर निर्माण गरिएको हो । घर निर्माणको लागत ४ लाख १० हजार रुपैया खर्च भएको समितीले सार्वजनिक गरेको छ । घर निर्माणको खर्च कटाएर अझै ६४ हजार रुपैयाँ बचत भएको र सो रकमले प्याकुरेलको जीविकोपार्जनको निम्ति व्यवसाय सन्चालनमा सहयोग हुने समितिले बताएको छ । प्याकुरेलको घर ३ कोठाको पक्की घर सहित शौचालय समेत निर्माण भएको छ ।