शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमले ज्येष्ठहरुमा खुसी ल्याएको छ । जस अन्तर्गत सोमवारदेखि ३ वटा वडामा स्वास्थ्य परीक्षण थालिएको छ ।
स्वास्थ्य शाखाको आयोजनामा नगरको वडा नम्वर २, ३ र १० मा परीक्षण थालिएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए । वडाका जनप्रतिनिधिहरुको समेत उत्साहजन उपस्थितीबीच भएको कार्यक्रममा २ र १० नम्वर वडामा १०, १० जना र ३ नम्वर वडामा ६ जनाको स्वास्थ्य परीक्षण भएको छ । पहिलो दिन भएकाले कार्यक्रमका बारेमा बुझाउँदै जानु पर्ने भएकाले पनि धेरैजनाको स्वास्थ्य परीक्षण गर्न नभ्याइएको आचार्यले उल्लेख गरे । तर अवका दिनदेखि नगरका ८० वर्षमाथिका सवै ज्येष्ठको परीक्षण १ सातामा सक्ने योजनामा रहेको सुनाउँदै उनले थपे ‘ यो खाले कार्यक्रमले गाउँमा ज्येष्ठहरुप्रति उत्साह भरिएको मैले पाएको छु र हामीलाई पनि ज्येष्ठहरुका लागि यसरी उपचार सेवा गर्न पाउँदा फरकखाले खुसी लागेको छ ।’ स्थानीय सरकारले यो खाले काम थालेकोमा वडावासीले अनौठो खुसी व्यक्त गरेका छन् । यसखाले कार्यक्रमले ज्येष्ठहरुको सम्मानमा निकै ध्यान पुर्याएको हामीले महसुस गरेका छौं । फरकखाले खुसी लागिरहेको छ ।’– ज्येष्ठहरुको नगर अगुवा ज्ञानेन्द्र भट्टराईले हाँस्दै भने ।
स्वास्थ्यकर्मीबाट ज्येष्ठको रक्तचाप, मधुमेह, कानको जाँच, अक्सिजनको मात्रा, नाडीको गति, स्वासप्रश्वास दर, शरीरको तापक्रम, तौलको परीक्षणका साथै खाँदै गरेका औषधि सहितका स्वास्थ्य सल्लाह प्रदान गरिएको छ । स्वास्थ्य संस्थामा उपलब्ध हुने औषधि पनि आवश्यकता अनुसार सँगै प्रदान गरिएको छ । स्वास्थ्य परीक्षणका क्रममा वडा नम्वर ३ का ८४ वर्षीय तुलाराम बजगाईको जाँच गर्दा मुटुको गतिमा समस्या देखिएकाले विराटनगरको नोवेल अस्पतालमा रेफर गरिएको छ । नगरपालिकाले १ नम्वर प्रदेशभरी उपचार गर्न वर्षमा एकपटक अस्पतालसम्म पुर्याउन एम्वुलेन्स सेवा निशुल्क उपलब्ध गराउने क्रार्यक्रमको थालनी वजगाईंबाट हुँदैछ । ‘घर घरमा जाँच गर्ने र अस्पताल जान एम्वुलेन्सको पनि वस्दोवस्त गर्ने भएपछि हामीहरुलाई निकै सजिलो हुने समय आएछ ।’– उनले खुसीमिश्रित भक्कानिएको स्वरमा भने ।
प्रत्येक वडामा प्रत्येक महिना १ साताको अवधि छुट्याएर यसखाले चेकजाँच गरिने छ । ‘ज्येष्ठ नागरिकको स्वास्थ्यसँग नगरपालिका’ नामक कार्यक्रम अन्तर्गत निर्देशिका समेत निर्माण गरी काम थालिएको हो । यो कामको उद्घाटन् भनें नयाँ वर्षको अवसर पारेर पञ्चेवाजा वजाउँदै वैशाख १ गते भएको थियो । नगरपालिकाले २ लाख रुपैयाँ वजेट छुट्याएर तत्कालका लागि चेकजाँचका सामग्री खरिद गरेको छ । पथरी, शनिश्चरे र हसन्दहका स्वास्थ्यकर्मीहरुले आआफ्नो क्षेत्रका ज्येष्ठहरुको स्वास्थ्य परीक्षणमा घर घर पुग्नेछन् । नगरमा ८० वर्ष उमेर पुगेका ९ सय २७ जना ज्येष्ठ रहेका छन् ।
यसैवीच, ओठ तालु फाटेकाहरुका लागि वी एण्ड वी अस्पताल ललितपुरको प्राविधिक सहयोगमा नगरपालिकाले कार्यालयमा मंगलवार १ दिने निशुल्क छनौट शिविर सञ्चालन गर्ने भएको छ । काठमाडौं अस्पताल जादाँ आँउँदा र उपचार सहितको सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने छ ।
त्यस्तै, वैशाख १४ गते नगरभित्र क्षयरोगको प्रभावित क्षेत्रहरुमा निशुल्क माइक्रोस्कोपिक शिविर हुने भएको छ । पथरी स्वास्थ्य चौकी, शनिश्चरे स्वास्थ्य चौकी र किरातचोकको सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ ।