बेलबारी । मोरङको केराबारी गाउँपालिकाद्धारा आयोजित सार्वजानिक सुनुवाई कार्यक्रम सोमवार सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका धेरै वडामा खानेपानीको समस्याले गाउँमा हाहाकार निम्त्याएको नागरिकले आवाज उठाएका छन् । केराबारीको वडा नं. ६,७ र १० नम्वर वडामा खानेपानीको समस्याले वडावासीहरु व्याकुल बनेको गुनाशो सार्वजानिक सुनुवाई कार्यक्रममा राखेका थिए । कार्यक्रममा बोल्दै केवलप्रसाद सुवेदीले खानेपानीको धारामा हावामा आउने गरेको बताएका छन् । त्यसैगरी केराबारी ६ को धारामा भने हावा समेत नआउने गरेको त्यहाँका नागरिकहरुले कार्यक्रममा गुनाशो पोखेका छन् ।

त्यसैगरी वडा नं. ७ मा पनि खानेपानीको चरम समस्याका कारण स्थानीय वासिन्दा र गाईवस्तुहरु पालनमा समेत समस्या परेको कार्यक्रममा सहभागीहरुले सवाल उठाएका थिए । त्यसैगरी खोला तटवन्धको समस्याले पनि केराबारीवासीलाई सताएको गुनाशो राखेका थिए । केराबारी ९ मा भलुवा,तुर्के र लोहोन्द्रा खोलाले सताएको र उता मुगुखोलाले बस्तीमा समस्या पारेको विषयमा किन अहिले सम्म जनप्रतिनिधिहरुले कामगर्न ढिलाई गरेको भनि प्रश्न गरेका थिए । केराबारी ९ का यज्ञ सुवेदीले गाउपालिका अध्यक्ष रोहित कार्कीलाई प्रश्न गर्दै चुनाव ताका खोलाको पाता फर्काउछु भन्नु भाथ्यो त्यो कहाँ सम्म पुग्यो भनि प्रश्न गरेका थिए । त्यसैगरी आदिवासी जनजातिको प्रस्तावित संग्राहलयको विषयमा गाउँपालिकाको नीति र कार्यक्रमले समेट्न नसकेको गुनाशो पनि व्यक्त गरिएको थियो ।

महासंघ केराबारीका सचिव तिलक देवानले आर्यघाट निर्माणमा रकम दिन मिल्ने सिंहदेवीमा बन्न लागेको संग्राहलयमा रकम दिन किन नमिल्ने भनि प्रश्न गरेका थिए । त्यसैगरी महासंघ की अध्यक्ष सुभद्रा राईले आदिवासीहरुको भाषामा पठनपाठनका लागि बजेट विनियोजित गर्नुपर्ने माग राखेका थिए । त्यसैगरी गाउँपालिकाबाट परेको योजनाको काम गर्न उपभोक्ताहरुले पहिले पैसा लगाउनु पर्दा समितिमा बस्नेलाई मार्कामा परेको केराबारीका प्रेम लिम्वु लावतीले उठाएका थिए । त्यसैगरी योजना फरफराकका लागि कार्यालयबाट असाध्यै ढिलो हुने लेखाबाट दुख दिने गरेको जस्ता विषयहरु सेवाग्राहीहरुले उठाएका थिए । त्यसैगरी खदम खोलाको उत्खनन्को विषयमा पनि स्थानीय वासिन्दाहरुले समस्या राखेका थिए । खदम खोला मापदण्ड विपरित उत्खनन् गरेका कारण हात्ती डुब्ने खाल्डाहरुका कारण सिचाईमा समस्या परेको समस्या राखेका थिए । नागरिकहरुले उठाएका सवाल मागहरुलाई क्रमिक रुपमा सम्वोधन गर्ने गाउँपालिकाका अध्यक्ष रोहित कार्की लगायत वडाध्यक्षहरुले प्रतिवद्धता जाहेर गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले खानेपानीको वृहत योजना ल्याएर क्रमिक रुपमा खानेपानीको समस्या समाधान गर्ने बताएका छन् । त्यसैगरी तटवन्धको सवालमा केराबारी ९ मा असारको पहिलो हप्ता सम्ममा खोलाको ओभर डिपोजिटलाई हटाएर वस्तीलाई जोगाउन तटवन्ध शुरु गर्ने बताएका छन् ।

आदिवासी जनजातिको सवालमा समेत वोर्ड बैठकबाट छलफल गराई हुन सक्ने रकम उपलब्ध गराउने बताएका छन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ति लिम्वु , प्रशाशकीय अधिकृत डम्वरुबल्लभ बरालले कार्यक्रममा उठेका सवाललाई प्रष्टपारेका थिए । कार्यक्रममा विशेष गरेर वडा नं. १० का नागरिकहरुको उपस्थिति रहेकोले सवाल वडा नं. १० बजारक्षेत्रमा केन्द्रित रहेको थियो । वडा नं. १,२,४ र ५ का सेवाग्राही नागरिकहरुको उपस्थिति न्युन भएको कारण त्यस क्षेत्रको सवालहरु उठ्न सकेन । कार्यक्रममा वडाध्यक्षहरु मनोज खड्का, जंग भुजेल, नारायण चेम्जोङ, उपेन्द्र लुंघेली,प्रेम लिम्वु, भुपतिन्द्र प्रताप मल्ल लगायतले उठेका सवालका विषयमा बोलेका थिए ।