उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आफुमाथि लागेको आरोप निराधार भएको बताएका छन् । मेयर फागोले सोमबार यहाँ पत्रकार सम्मेलन गरी प्रक्रियाभन्दा बाहिर गएर खोला उत्खनन् नगराएको दाबी गरे । उनले स्थानीयको माग, जिल्ला समन्वय समितिको स्वीकृतिपत्र र नगरपालिकाको बैठकको निर्णयअनुसार सोल्टी र मिक्लु खोलामा ‘च्यानालाइज’ गरेको बताउँदै अवैध रूपमा खोला दोहन गरेको भन्ने आरोप निराधार रहेको बताए । पत्रकार सम्मेलनमा फागोले स्थानीयको मागअनुसार नै गत फागुन २ गते जिल्ला समन्वय समितिलाई पत्र लेखेर सोल्टी र मिक्लु खोलाको मुख्य बहाव स्थलबाट गिट्टी, बालुवा हटाउने अनुमति माग गरेको उल्लेख गरे । सोही मागअनुसार जिससले फागुन ११ गते जिल्ला विपद् व्यवस्थापन समितिको माघ २८ को निर्णय ३ अनुसार जिल्लाको उत्तर–दक्षिण भएर बग्ने खोला–नदीमा अत्यधिक डिपोजिट भएका कारण नदीको बहाव धेरैजसो स्थानमा बस्तीभन्दा उच्च भएको उनको भनाइ छ । यसबाट खेतीयोग्य जमीन र मानव बस्ती जोखिममा परेकाले नदी च्यानालाइज गरी डिपोजिसन हटाउन प्राविधिक प्रतिवेदनका आधारमा सम्बन्धित स्थानीय तहलाई जिम्मेवार बनाई जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने निर्णय भएको पत्र पठाएको मेयर फागोद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, उनले आधिकारिक रूपमा सबै प्रक्रिया पु¥याएर परिपत्रका आधारमा फागुन २८ गते आप्mनो अध्यक्षतामा बसेको उपमेयर लक्ष्मीदेवी भण्डारी, वडाध्यक्षहरू, नगर कार्यपालिकाका सदस्य, नगरपालिकाका इन्जिनियरसहितको बैठकले सोल्टी र मिक्लु खोलामा च्यानालाइज गर्ने निर्णय गरेको बताए । जनहितका लागि गरिएका कामविरुद्ध अनावश्यक प्रचारबाजी नगर्न र सबै मिलेर सकारात्मक काम अगाडि बढाउन उनले आग्रहसमेत गरे । साथै, मेयर फागोले सन्तुलित समाचार लेख्न सञ्चारकर्मीलाई अनुरोध गरे । उपप्रमुख लक्ष्मी भण्डारीको भनाइ भने अर्कै छ । उनले भनिन्, ‘च्यानलाइज गर्ने विषयमा मिटिङले पास गरेको हो, बाहिर बेच्न दिने भनेर निर्णय भएको छैन ।’ उनले १० हजार घनमिटर नदीजन्य पदार्थले उर्लाबारीलाई पुग्ने र बाँकी पदार्थ प्रमुख फागोले बेचेको आरोप लगाइन् । उता, वाम गठबन्धनका नेता गंगाप्रसाद बाँस्तोलाले भने जिल्ला विकास समितिले च्यानल खोल्ने अनुमति दिए पनि नदीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने जिकीर गरे । नगर प्रमुख फागोले एकलौटी रूपमा इटहरीका ठेकेदार भीम पौडेलसँग मिलोमतो गरी ती पदार्थ बेचेको आरोप लगाए ।