मधुमल्ला । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बू र उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोबीच एक कार्यक्रममा छेडछाड भएको छ ।

मंगलबार उर्लाबारी–३ मंगलबारेस्थित कन्काई विकास बैंकको १३ औं शाखा कार्यालयको उद्घाटन कार्यक्रममा उनीहरुबीच उर्लाबारीस्थित सोल्टी र मिक्लुक खोलामा च्यानालाइज गर्ने क्रममा उत्खनन् गरेको बिषयमा छेडछाड भएको हो । नगरप्रमुख फागोले सोल्टी र मिक्लुक खोलाबाट च्यानालाइज गरिएको भएपनि बिक्री नभएको बताए ।

आफूले जनताको हितमा रहेर काम गरिरहेको उल्लेख गर्दै मेयर फागोले उत्खनन् गरी बिक्री गरेको बिषयमा सत्यतथ्य छानविन हुनु पर्ने बताएका छन् । राजनीतिक पूर्वाग्रह भएर आफूलाई आक्षेप लगाएको भन्दै मेयर फागोले जनताको हित विपरीत काम नगरेको दाबी गरेका छन् । ‘मैले भष्ट्रचार गरेको छ भने छानविन गर्नुहोस्’ उनले भने । कार्यपालिकाको बैठकबाट च्यानालाइज गर्ने निर्णय अनुसार सोल्टी र मिक्लुक खोलामा काम भएको उनले बताएका छन् ।

मेयर फागोपछि बोलेका प्रदेश सांसद लिम्बूले च्यानालाइजका नाममा बोडरसम्म निकासी भएको पाइएको दाबी गरेका छन् । उनले ठेक्का नलागेको खोलाबाट अबैध तरिकाले निकासी गरी बिक्री गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने बताएका छन् । ठेकेदार भीम पौडेलले गलत रुपमा खोलाबाट निकासी गरेको उनले दाबी गरे । ‘च्यानालाइज गर्नु सकारात्मक पक्ष हो’ उनले भने–‘ च्यानालाइजका नाममा किन बालुवा र गिट्टी विक्री भयो यस बिषयमा छानविन हुन्छ ।’ छानविन हुँदैमा कसैले डराउनु नपर्ने उल्लेख गर्दै उनले भने–‘उर्लाबारी–७ को निजी वन फँडानी र अबैध निकासी गर्नेलाई कानूनी दायरामा ल्याउँछौं ।’