इलाम । बिभागिय टोली नेपाल पुलिस क्लब पराजित गर्दै रुस्लान थ्री स्टार क्लब इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमी फाईनलमा प्रवेश गरेको छ । पुलिस ट्राइबेकरमा ४–३ गोल अन्तरले हराउँदै थ्रीस्टारले सेमी फाईनलको लागि आफ्नो यात्रा सुनिश्चित गरेको हो । निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएको थियो । त्यसपछि थपिएको अतिरिक्त १५ मिनेटमा समेत दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । टाईब्रेकरमा थ्रिस्टारका कप्तान निराजन खड्का, विमल घर्ती मगर, रजिन धिमाल र रुपेश केसीले गोल गरे । सुनिल बलको प्रहार भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरेका थिए । पुलिसका तर्फबाट भने रेजिन सुब्बा, तेज तामाङ र दिनेश राजवंशीले मात्र गोल गरे । सुमन लामा र हेम तामाङको प्रहार थ्रिस्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ठ बचाउ गर्दै टिमलाई अघिल्लो चरण उक्लिन मद्दत गरे । खेलको म्यान अफ दी म्याच समेत न्यौपाने घोषित हुँदै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे । यो सँगै क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका छन् । भोलीबाट सेमी फाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मनाङ मस्याङ्दीको भिड्दैछन् । जितसँगै थ्रिस्टारले शनिबार हुने दोश्रो तथा अन्तिम सेमिफाइनमा सशस्त्र प्रहरीको एपिएफसँगको भेट पक्का गरेको छ ।