विराटनगर ।प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले विपत व्यवस्थापनका लागि आवश्यक सामाग्रीको जोहो गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता केदार कार्कीले विपत व्यवस्थापनको कोष निर्माणसँगै प्रदेश सरकारले आपतकालिन उद्धारका सामाग्रीहरु खरिद गर्नुपर्नेमा जोड दिए । संसद बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले पेश गरेको आकस्मीक कोष संचालन विधेयकबारे सामान्य छलफलमा भाग लिँदै उनले सरकारले सके आपतकालिन अवस्थामा उद्धार गर्न आफ्नै हेलिकप्टरसम्म सरकारले व्यवस्था गर्नुपर्ने बताए । संसदमा उठेको जवाफ दिँदै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले खोजी र उद्धार कार्यका लागि शून्य सहनशीलताको निती अबलम्बन गर्दैै कोषको व्यवस्थापन र परिचालन गरिने बताए । बिहीबारको बैठकमा मन्त्री आङ्बोले आकस्मीक कोष संचालन विधेयक–२०७५ पेश गरे । उक्त विधेयकबारे सामान्य छलफल पछि आवश्यक संशोधनका लागि सांसदहरुलाई ७२ घण्टाको समय दिइएको छ । संसदको अर्को बैठक आगामि वैशाख २० गते दिउँसो १ बजे बस्नेछ ।