पानवारी /यसवर्षको उभौली पर्वमा ‘किरात राज्य’को माग गर्दै मनाइने भएको छ ।

[caption id="attachment_81137" align="aligncenter" width="640"] तस्विर : रिता लामा[/caption]

शनिबार किरात राई यायोक्खा सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उधौली पर्व मनाउने जानकारी दिएको थियो । विषेश गरी साकेला नाच्दा धरानको भानुचोक, इटहरी, महेन्द्रनगर र चक्रघट्टीको साकेलामा किरात राज्यका निम्ति किरात अगुवाहरुले बोल्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । साथै यस वर्षको साकेलामा किरात राज्यको महत्व र ऐतिहासिकतालाई समेत प्रचार गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यायोक्खा सुनसरीको सभाहलमा मा आयोजना गरेको पत्रकार सम्मेलनमा यही वैशाख १७ गते बैशाखी पूर्णीमादेखि जेठ ४ गतेसम्म सुनसरीका विभिन्न स्थानमा साकेला नाचेर उभौली पर्व मनाइने जानकारी गराइएको थियो । १७ गते किरात राई यायोक्खा धरान–१३ ले हाङ बुद्धीकर्ण दरबार क्षेत्र, विजयपुर र इटहरी ५ र ७ नं. वडा समितिले काब्यबाटिका इटहरीमा साकेला नाचेर यसवर्षको उभौली पर्व सुरु गरिने किरात राई यायोक्खा सुनसरीका प्रचार प्रसार संयोजक उपेन्द्र चाम्लिङले कार्यक्रममा जानकारी गराएका थिए ।

साकेला नाच्नु अघि किरात राईहरुले आफ्नो घरभित्र रहेको पवित्र चुला पुज्ने, पाकेको अन्नबालीहरु घरभित्र प्रवेश गराई पितृहरुलाई चढाउने र आफन्तजनहरु भेला भएर हर्षाेल्लासका साथ नयाँ बाली खाने परम्परा रहदै आएको छ । यसका साथै किरात राईहरुले उभौली लागेपछि बेसी झरेका चरा तथा माछाहरु लेक चढ्ने र बेसी गोठ झरेका किरातीहरु पनि आफ्ना बस्तुभाउ लिएर लेक चढ्ने समय भएकोले त्यस सयमलाई उभौलीका रुपमा मानेर आदीकालदेखि नै धुमधामसँग उभौलीको रुपमा मनाउदै आएका छन् ।

किरात राई यायोक्खा सुनसरीले आफ्नो मौलिकतालाई बाचयराख्न २०५७ सालदेखि सुरु गरेको साकेला सिली प्रतियोगिता हालसम्म पनि निरन्तर हुँदै आएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुलाई वितरण गरिएको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा उल्लेख गरिए अनुसार किरातीहरुको पुख्यौली भूमि भोजपुर, इलाम, धनकुटा, खोटाङ, संखुवासभा, उदयपुर र ओखलढुंगामा किराती धामीहरुले विधि पूर्वक पुजाआजा गरेर साकेला नाचिन्छ । साथै अहिले उक्त स्थानबाट बसाइ सरि आएको स्थान सुनसरी, मोरङ, झापा, सिराहा, ललितपुर, भक्तपुर र काठमाडौमा समेत भव्यताका साथ उभौली मनाउने गरिएको छ ।

गाउँमा मात्र रहेको साकेला सिली अहिले शहर पस्दै अन्तराष्ट्रिय स्तरमा समेत विस्तार भएको र किरातीहरु आफ्नो संस्कृतिको जगेर्नामा लागी परेको भन्दै किराया सुनसरी सचिव हिन्दुहाङ राईले खुसी व्यक्त गरेका थिए ।

साकेला यही वैशाख १७ गतेदेखि सुरु भइ सुनसरीका विभिन्न स्थानमा साकेला नाच्दै जेठ ५ गते समापन गरिने कार्यक्रम सार्वजनिक गरिएको छ । साकेलाको समापन कार्यक्रम भने सधैका वर्षहरुमा झै यस वर्ष पनि भव्यताकासाथ गरिने बताइएको छ । समापनमा आयोजना हुने साकेला सिली प्रदर्शनी प्रतियोगिता सधै आकर्षणको केन्द्रविन्दुको रुपमा रहने गरेको छ । गतवर्ष पनि साकेला सिली प्रदर्शन प्रतियोगिताको विजेता, उपविजेता र तस्रो हुने टोलीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहित पुरस्कृत गरिएको थियो । यसवर्ष पनि सो प्रतियोगिता सँगै विभिन्न ८ विद्यामा उत्कष्टहुनेलाई पुरस्कृत गरिने जानकारी आयोजक किरात राई यायोक्खा सुनसरीले जनाएको छ ।