विराटनगर । अज्ञात समूहको गोली प्रहारबाट घाइते बनेका धर्मगुरु स्वामी श्रीनिवासाचार्यले आफूले पुनःर्जन्म पाएको बताएका छन् । विराटनगरस्थित न्यूरो अस्पतालकोे उपचारबाट आइतबार डिस्चार्ज लिँदै उनले पुनःर्जन्म पाएको भन्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । ‘यो घटनापछि मैले पुनःर्जन्म पाएको महसुस गरेको छु,’ श्रीनिवासाचार्यले भने, ‘मलाई सुभेच्छा प्रकट गर्नुहुने र सहयोग गर्ने सबैप्रति आभारी छु ।’ उनले विगतझैं धार्मिक कार्यक्रमलाई आफूले निरन्तरता दिने बताए । प्रहरीले घटनामा संलग्न अपराधीलाई छिट्टै पक्राउ पर्ने उनले विश्वास लिए । पत्रकार सम्मेलनकैबीच उनले आफ्नो उपचारमा संलग्न डाक्टर सुदिप खनिया सहितको टोलीलाई धन्यवाद ज्ञापनगर्दै दोसल्लाले सम्मान गरे । अस्पतालबाट डिस्चार्ज भएपछि उनी काठमाडौं प्रस्थान गरेका छन् । गोली प्रहारबाट घाइते भएका श्रीनिवासाचार्य विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत थिए । विराटनगरस्थित जतुवामा आयोजित श्रीमद् भागवत पुराणमा सहभागि हुन आएका उनीमाथि गएको चैत्र २५ गते गोली प्रहार भएको थियो । उनको दाहिने छात्तीको माथिल्लो भागमा गोली लागेको थियो । अस्पतालले आइतबार पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको हो । न्यूरो अस्पतालका तुलसी उप्रेतीले विभिन्न चरणको उपचारपछि अवस्था सुधारोन्मुख भएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए ।