मोरङ /मोरङको पथरी शनिश्चरे नगरको आकर्षक पर्यटनस्थल बन्ने सम्भावना रहेको बाघे सिमसार क्षेत्रको प्रवद्र्धन थालिएको छ ।
वडा नम्वर १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले भूटानी शरणार्थी शिविर सिधा पर्ने पूर्वपश्चिम मुख्य सडक उत्तरमा वन भित्र रहेको सिमसार क्षेत्रको सरसफाई गरी पोखरी निर्माण गर्ने काम थालेको हो ।
तत्काल वन समूहले ५ लाख रुपैयाँ विनियोजन गरी स्काभेटर लगाएर सिमसार क्षेत्रलाई पोखरीको रुप दिने काम थालिएको समूह सचिव मैनादेवी फुयाँल आचार्यले बताइन् । ३ वटा पोखरीमध्ये सवैभन्दा उत्तरमा रहेको सो पोखरीपछि पूर्वपश्चिम सडकसँगै जोडिएको पोखरी समेतलाई व्यबस्थित गरी पर्यटकीय क्षेत्र बनाउने योजना रहेको आचार्यले सुनाइन् । पोखरीका लागि समूहले वर्षेनी काम गर्दै जाने र नगरपालिका कार्यालयले पनि सहयोग पुर्याउन माग गरिएको उल्लेख गरिन् ।
बाघे खोलाको सिमसारका रुपमा रहेको सो ठाउँमा केही वर्ष अघि पैनी निर्माणका क्रममा पक्की वाँध समेत निर्माण गरिएको थियो । सोही वाँधलाई थप व्यवस्थित गर्दै ड्यामबाट झर्नाजस्तो देखिने गरी पानीको वहाबको प्रवन्ध मिलाउने समेत समितिको योजना रहेको छ । पोखरीमा डुङ्गा सञ्चालन गरिने छ । यसको प्रवद्र्धनका लागि पर्यटन वोर्डमा समेत समूहले कार्यक्रम माग गरेको छ ।
नगर प्रमुख दीलिपकुमार राई सहितको नगरपालिकाको टोलीले सो क्षेत्रको अवलोकन गरी पर्यटकीय सम्भावना बोकेको स्थलका रुपमा इङ्कित गरिसकेको छ । पथरीशनिश्चरे नगर पूर्वमा वन तथा सिमसारयुक्त पर्यटनको प्रवल सम्भावना बोकेको नगरका रुपमा रहेको छ ।