भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा दोस्रोपटक निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा आउदै छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली दुई दिनका लागि मंगलबार झापा आउने भएका हुन् । ओली बिहान ११ बजे चन्द्रगढी विमानस्थल भद्रपुर आइपुग्ने कार्यक्रम रहेको एमाले पार्टीले जनाएको छ । विमानस्थलमा भव्य स्वागतपछि प्रधानमन्त्री ओली झापाको जिल्ला समन्वय समितिको कार्यालयले आयोजना गरेको जिल्ला सभाको उद्घाटन तथा सम्बोधन कार्यक्रममा करिब एक घण्टा रहने समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । त्यसपछि चारपाने–चैतुबारी–मतिगडा–साधुकुटी–राजगढ साढे १५ किलोमिटर सडकको शिलान्यास गर्ने भएका छन् । मध्याह्न १२ बजे लक्ष्मीपुर–साधुटार सडक उद्घाटनपछि ओली १ बजे बिरिङखोलाको पुल शिलन्यासका लागि पुग्नेछन् । यसपछि उनी आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ जाने कार्यतालिका छ । पाडाजुँगी–झर्का–गोहाबारी–बालुबथान–चप्रामारी–खजुरगाछी सडकको १० किलोमिटरखण्ड शिलान्यासका लागि अपराह्न ३ बजे कमल गाउँपालिका–५ को पाडाजुँगी पुग्ने कार्यक्रम रहेको एमाले क्षेत्रीय संयोजक होमबहादुर थापाले जानकारी दिए । पहिलो दिनको अन्तिम कार्यक्रमको रूपमा कमल गाउँपालिकाकै केर्खाचोक पश्चिम ४ बजे पुग्ने प्रधानमन्त्री ओलीले अमलडाँगी–समयगढ–बाँसबारी–सोलमारी सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । दोस्रो दिन गृहनगर दमकमा हुने झण्डै आधा दर्जन कार्यक्रममा व्यस्त हुने छन् । उनले नगरपालिकाले घोषणा गरेको पहिलो जाति धिमाल जातिको प्रतिमाको उद्घाटन गर्ने कार्यक्रम छ भने दमक–१ मा खानेपानी योजनाको पनि उद्घाटन गर्दै छन् । यस्तै, दमकको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको नमुना बजारको पनि ओलीले उद्घाटन गर्ने छन् भने दमक नगरपालिकाको पहिलो नगरसभाबाट निर्णय भएको नगरप्रमुख प्रतिभा सम्मान पनि ओलीले प्रदान गर्दैछन् । सम्मान वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशीले पाउँदैछन् । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । यस्तै, दमक नगरपालिका, खेलकुद विकास समितिले आयोजना गरेको दमक गोल्डकपको उद्घाटन समेत प्रधानमन्त्री ओलीलेनै गर्ने कार्यक्रम रहेको एमाले जिल्ला कमिटिले जनाएको छ ।