भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाल निरर्थक वहस र विवादमा नअल्झि सवै मिलेर देशविकासमा लाग्न जरुरी रहेको बताएका छन् । सवैको आकंक्षा विकासवाट समृद्धि नेपाल बनाउने चाहना भएकोले बर्तमान सरकारको भुमिका पनि सोहि दिशामा केन्द्रित भएको औल्याएका छन् । प्रधानमन्त्रीमा दोस्रोपटक निर्वाचित भएपछि मंगलबार पहिलो पटक गृह जिल्ला झापा आएका ओलीले जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्ला सभाको प्रथम वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा अघि सारेका हुन् । गलत सोच, मनसाय,योजना ,व्यवहार लगायतले गर्दा गन्तव्यमा जाननसकिएको उल्लेख गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अबको वाटो सहि भएकोले सवै यसतर्फ उन्मुख हुन आग्रह समेत गरेका थिए । राजतन्त्र पछि जनताले ल्याएको लोकतन्त्रलाई बिन्दुमा पुर्याउनका लागि सार्वभौमसत्ता सम्पन्न जनता भएकोले जनताको देश र जनताकै आदेश हुने भएकोले कुनै एक व्यत्ति हाबी हुने परिपाटी सदाका लागि खतम भएको धारणा राखेका थिए । ओलीले अर्को प्रसङ्गमा सुकुम्बासीको नाममा जहाँ सुकै छाप्रो हालेर दादागिरी देखाउने जमना गएको बताए । अब व्यवस्थित बस्ती र शहर बनाउनुपर्ने भन्दै सुकुम्बासीको नाममा जहाँ पायो त्यहाँ छाप्रो हाल्न अब नपाइने उनको भनाइ थियो । सबै मानिस गरिखाने बाटोतिर लाग्नुपर्ने भन्दै ओलीले त्यसको व्यवस्था सरकारले गर्ने बताए । अस्पताल, शिक्षालय, बजार, मनोरञ्जनस्थल आदि एकै ठाउँमा भएका व्यवस्थित शहर निर्माण गर्नुपर्ने अबको योजना भएकोले निर्वाचित जनप्रतिनिधिलाई त्यस तर्फ ध्यान केन्द्रीत गर्न निर्देशन दिएका थिए । मुलुकमा विजुली उत्पादन बढाउनुपर्ने भन्दै पानी, घाम र हावा सबैबाट विजुली निकाल्ने उनले सुनाए । आफूले हावाबाट विजुली निकाल्ने भन्दा धेरै मानिसले रमाइलो मानेको भन्दै प्रधानमन्त्री ओलीले अहिले बल्ल पत्याउन थालेको बताए । शिक्षा तर्फ बालबालिकाको पढाइमा कुनै सम्झौता हुन नसक्ने उनको भनाइ थियो । कुनै व्यक्तिलाई शिक्षकको जागिर दिने नाममा बालबालिकाको पढाइ बिगार्न नसकिने उनले बताए । शिक्षाको लागि जनप्रतिनिधिले खोजी खोजी पढ्ने उमेरका विद्यार्थीलाई विद्यालय पठाउने अभियानमा सहयोग गर्न अनुरोध गरेका थिए । झापा अन्य जिल्लाको तुलनामा प्राकृतिक सम्पदा भएकोले विकासको लागि अधिकतम प्रयोग गर्न सकिने उनले बताए । ओली दुई दिनका लागि झापामा ब्यस्त रहने छन् । ओली बिहान ११ बजे चन्द्रगढी विमानस्थल भद्रपुर आइपगेका थिए । ओलीको सुरक्षाको लागि पत्रकारलाइ समेत विमानस्थलमा रोक लगाइएको थियो । विमानस्थलमा भव्य स्वागतपछि जिल्ला सभाको वैठकलाइ सम्बोधन गरेका थिए त्यसपछि चारपाने–चैतुबारी–मतिगडा–साधुकुटी–राजगढ साढे १५ किलोमिटर सडक शिलान्यास, लक्ष्मीपुर–साधुटार सडक उद्घाटन, बिरिङखोलाको पुल शिलन्यास । यसपछि उनी आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५मा रहेको पाडाजुँगी–झर्का–गोहाबारी–बालुबथान–चप्रामारी–खजुरगाछी सडकको १० किलोमिटरखण्ड शिलान्यास , कमल गाउँपालिका–५ को पाडाजुँगी पुग्ने कार्यक्रम रहेको एमाले क्षेत्रीय संयोजक होमबहादुर थापाले जानकारी दिए । पहिलो दिनको अन्तिम कार्यक्रमको रूपमा कमल गाउँपालिकाकै केर्खाचोक पश्चिम ४ बजे पुग्ने प्रधानमन्त्री ओलीले अमलडाँगी–समयगढ–बाँसबारी–सोलमारी सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । दोस्रो दिन गृहनगर दमकमा हुने झण्डै आधा दर्जन कार्यक्रममा व्यस्त हुने छन् । उनले नगरपालिकाले घोषणा गरेको पहिलो जाति धिमाल जातिको प्रतिमाको उद्घाटन गर्ने कार्यक्रम छ भने दमक–१ मा खानेपानी योजनाको पनि उद्घाटन गर्दै छन् । यस्तै, दमकको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको नमुना बजारको पनि ओलीले उद्घाटन गर्ने छन् भने दमक नगरपालिकाको पहिलो नगरसभाबाट निर्णय भएको नगरप्रमुख प्रतिभा सम्मान पनि ओलीले प्रदान गर्दैछन् । सम्मान वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशीले पाउँदैछन् । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । यस्तै, दमक नगरपालिका, खेलकुद विकास समितिले आयोजना गरेको दमक गोल्डकपको उद्घाटन समेत प्रधानमन्त्री ओलीलेनै गर्ने कार्यक्रम रहेको एमाले जिल्ला कमिटिले जनाएको छ ।