मोरङ/मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहरी क्षेत्रमा पर्ने वडा नम्वर १ र २ मा केन्द्रीत ढल व्यवस्थापनका लागि सरकारमार्फतको ३० करोड बढी रुपैयाँको परियोजना नगरपालिकाको सहकार्यमा चालु हुने भएको छ ।

खानेपानी मन्त्रालयको ढल निकास विभागले परियोजना प्रदान गरेको अवस्थामा नगरपालिकाको समेत सहकार्यमा काम अघि बढ्ने नगर प्रमुख दिलीपकुमार राईले वताए । पथरी खानेपानी तथा सरसफाई कार्यालयले मंगलवार राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुल रकममध्ये विभागले तोकेको १५ प्रतिशत रकम नगरपालिकाले व्यवस्थापन गरेर परियोजना सञ्चालनमा ल्याइने प्रतिवद्धता व्यक्त गरे । ‘यस अघिको कार्यपालिका बैठकले ढल व्यवस्थापन परियोजनामा सहकार्य गर्ने निर्णय गरिसकेको छ । ’– परियोजना सञ्चालनमा केही अन्यौल रहेको भन्ने सहभागिको जिज्ञासाको जवाफ दिने क्रममा उनले भने । स्वास्थ्य संयोजक मुरारी आचार्यले थपे ‘फोहोरजन्य अवस्थाका कारण नगर समस्यामा छ । ढल व्यवस्थापन हुन सक्यो भनें नगरमा हुने आधा रोग कम हुनेछ ।’

पथरी खानेपानीको प्रस्तावमाथि ढल निकास विभागले स्वीकार गर्दै तत्कालका लागि २० लाख रुपैयाँ विनियोजन गरेपनि त्यसबाट काम थाल्न नपाई आर्थिक वर्ष सकिन लागेको छ । जग्गाको व्यवस्थापन स्थानीय क्षेत्रबाटै गर्नुपर्ने र त्यहाँका लागि पर्खाल निर्माण गर्ने शर्तमा सो रकम निकासा भएको थियो । तर हालसम्म जग्गा व्यवस्थापन हुन नसक्दा पर्खाल लगाउने रकम पनि फ्रिज हुने अवस्थामा पुगेपछि सवैको सहकार्य मागिएको समिति अध्यक्ष वीरवहादुर वस्नेतले उल्लेख गरे । जग्गा व्यवस्थापनको रकम वाहेक ३० करोड १६ लाख २१ हजार रकम ढल निकास विभागले उपलब्ध गराउने छ ।

पथरीशनिश्चरे २ का हीरालाल तिम्सिनाले २ कठ्ठा जग्गा निशुल्क दिएपछि सो स्थानमा समितिले १५ लाखमा ३ कठ्ठा ६ धुर जग्गा किनेर ५ कठ्ठा ६ धुर वनाएपनि कम्तिमा ३० कठ्ठा हुनुपर्ने प्रावधानलाई मूर्त रुप दिन सकेको छैन । नेपालकै महत्वपूर्ण परियोजनाका रुपमा सो नगरलाई यसखाले कार्यक्रम प्रदान गरेपछि यसलाई धानेर सम्पन्न गर्ने चुनौतीले पथरी खानेपानीलाई चिन्ता थपियो । सोही सन्दर्भमा स्थानीय संघ संस्थाका सरोकारवालाहरुसँग अन्तरक्रिया राखेर समस्याको निकास खोज्ने उपाय निकाल्यो ।

शौचालयको मलमुत्रलाई छुट्टै ढल निर्माण गरी पथरीशनिश्चरे २ मा पुर्याएर त्यहाँ खडा हुने प्रशोधन कारखानाबाट प्रशोधित गरेर मल, विजुली, ग्याँस समेत निर्माण गर्न सकिने खानेपानी डिभिजन कार्यालय मोरङका प्रमुख राजेन्द्र न्यौपानेले वताएपछि सहभागि उत्साहित वने । उनीहरुले यसखाले योजना सम्पन्न गर्न नगरपालिकाको अगुवाईको सुझाव दिए । समाजसेवीहरु तुलसीराम ढकाल, वीरध्वज शिवा, मेनुका राई, सुरेश कार्की, भीमकुमार राई, ओमप्रसाद लिम्बू सहितले सवैको सहकार्यमा परियोजना सम्पन्न लाग्नु पर्ने धारणा राखे ।