शनिश्चरे । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहनगर झापाको दमक नगरपालिकाद्धारा वुधवारबाट सुरु गरिने प्रथम ‘दमक गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन् गर्ने भएका छन् ।

मंगलवार झापा आइपुगेका ओलीले दमकमा गोल्डकप सहितका आधादर्जन कार्यक्रममा वुधवार समय खर्चिने छन् । उनी झापा आएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विजेताका लागि १३ लाख ५१ हजार पुरस्कार रकम प्रदान हुने मोफसलको सर्वाधिक राशीको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्रबहादुर प्रसाईले वताए । उपविजेता टिमले ६ लाख रुपैयाँ पाउने प्रसाइले जनाए । दमकलाई खेलकुदको शहरका रुपमा चिनाउने उद्देश्यले गोल्डकपको आयोजना गरिएको प्रसंग सहित उनले भने ‘सर्वाधिक पुरस्कार राशीको दमक गोल्डकपलाई पनि झापाका अन्य गोल्डकप भन्दा पनि भव्य र व्यवस्थित गर्ने प्रयत्न गरिरहेका छौं ।’

रमपम चाउचाउको मुख्य प्रायोजनमा दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन् खेल रमपम झापा ११ र मदन भण्डारी स्पोर्टस एकाडमी वीच हुनेछ । भूटान ११ र भारतको कोलकत्तास्थित महोमदन स्पोर्टिङ क्लबको पाहुन टिमका साथै ए डिभिजनका ७ र आयोजक गरी १० टिमको सहभागिता रहने छ । रमपम झापा ११, मनाङ मस्र्याङदी क्लब, रुस्लान थ्रीस्टार क्लब तथा विभागीय टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ र सरस्वती क्लबबीच प्रतिष्पर्धा हुने गोल्डकप आयोजक मूल समिति संयोजक भीमराज चम्लागाईले जनाए ।

गोल्डकपका लागि ९३ लाख खर्चको अनुमान गरिएको छ । गोल्डकपबाट १ करोड ३६ लाख रुपैयाँ संकलन गरेर ४२ लाख ५० हजार रुपैयाँ बचत गर्ने आयोजकको लक्ष्य छ । सो मध्ये नगरपालिकाले २० लाख र बाँकी रकम प्रायोजक, सहयोगी तथा प्रवेश शुल्कबाट उठाइने लक्ष्य छ । ५ हजार दर्शक अटाउने प्याराफिट निर्माण भएको छ । प्रवेशका लागि १ सय देखि ३ सयसम्मका टिकट राखिने छन् । गोल्डकपले खेलको प्रवद्र्धनका साथै दमक नगरपालिकाको विकास तथा पर्यटन् प्रवद्र्धनमा थप टेवा पुग्ने नगर प्रमुख रोमनाथ ओलीको ठहर छ ।

प्रतियोगिताको दोश्रो दिन आयोजक दमक र करेन्ट रुपन्देही ,तेश्रो दिन शसस्त्र प्रहरीको विभागिय टिमले पहिलो दिनको विजेता टिमसँग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै खेलको चौथो दिन त्रिभुवन आर्मीले दोश्रो दिनको विजेता टिमको सामना गर्नेछ । पाचांै दिनमा नेपाल पुलिस र थ्रीस्टार क्लव, छैठौ दिन सरस्वती यूथ क्लव र मनाङ मर्र्याङस्दीबीच पहिलो चरणका खेलहरु हुने खेल टिम व्यवस्थापन संयोजक प्रेम पाण्डेले वताए ।

यसअघि झापामा चार वटा गोल्डकप सम्पन्न भइसकेका छन् । असोजमा प्रथम दूधे गोल्डकप, कार्तिक–मंसिरमा दोस्रो सताक्षी गोल्डकप, मंसिरमै तेस्रो काँकडभिट्टा गोल्डकप र फागुनमा तेस्रो झापा गोल्डकप सम्पन्न भइसकेका छन् । जसमध्ये दूधे बाहेक सवै गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेर आफ्नो कुशलताको दर्विलो श्रृंखला प्रस्तुत गरिसकेको छ ।