दमक । पाहुना टोली सुरुवातमै आक्रामक बनेपछि रमपम झापा ११ एफसी झापा प्रथम दमक गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ । उद्घाटन खेलमा पाहुना टोली मदन भण्डारी स्पोर्टस एकाडेमी काठमाडौँले झापा ११ लाई ४−० गोलअन्तरमा पराजित गर्दै क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको हो । खेलको सुरुवातमै झापा ११ का खेलाडी सम्हालिन नपाउँदै पहिलो हाफमा मदन भण्डारी स्पोर्टस् एकाडेमीले ३ गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा थप एक गोल भएको थियो । पहिलोपल्ट पूर्व आएको मदन भण्डारी स्पोर्टस एकाडेमीले खेलको १२औं मिनेटमा अग्रता हासिल गरेको थियो । झापाका दिलेन लोक्तामले हेडमार्फत रोकेको बललाई एकाडेमीका विदेशी खेलाडी म्यापवेल इलोनले गोललाई पोष्टको दिशा दिँदै जाली चुमाएका थिए । खेलको २४औ मिनेटमा एकाडेमीले अग्रता दोब्बर बनाएको थियो । सौजन राईको क्रस पासमा झापाका गोलरक्षक किशोर गिरी अगाडि बढेको मौकामा प्रकाश बुढाथोकीले हेडमार्फत सुन्दर गोल गरेका थिए । तीन जना अफ्रिकन खेलाडीसहित मैदानमा उत्रिएको एकाडेमीले खेल अवधिभर झापालाई दबाबमा राखेको थियो । खेलको ३६औं मिनेटमा एकाडेमीका म्यापवेल इलोनले व्यक्तिगत दोस्रो तथा टीमका लागि तेस्रो गोल गर्दै गोलअन्तर बढाएका थिए । विश्व अधिकारीले मिलाइदिएको बललाई हेडमार्फत गोल गर्दै इलोनले टीमको लागि जित सुनिश्चित बनाएका थिए । झापा ११ का खेलाडीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि खेलको ५८औं मिनेटमा एकाडेमीले पुनः एक गोल गरेको थियो । एकाडेमीका विदेशी खेलाडी अबाले वान भर्सेज वान खेल्दै टीमका लागि गोल गरेका थिए । गोलरक्षक किशोर गिरीको हातबाट फुत्किएको बललाई अबाले पोष्टको दिशा दिएका हुन् । उनले प्रहार गर्दा झापाका प्रवेश गुरुङ गोललाइनमा भए पनि उनले गोल रोक्ने कुनै प्रयास गरेनन् । खेलको तीन मिनेटमै पाएको पेनाल्टी गोल गर्न नसक्दा झापाले खेलमा अग्रता लिनबाट वञ्चित भएको थियो । एकाडेमीका नविन गुरुङले झापाका स्ट्राइकर बिश्वास श्रेष्ठलाई डि एरियाभित्र लडाएपछि झापाले पेनाल्टीको अवसर पाएको थियो । झापाका कप्तान कर्ण लिम्बूले गरेको पेनाल्टी प्रहार बारमा लागेर फर्किएको थियो । १४औँ मिनेटमा एकाडेमीका विदेशी खेलाडी अबाले गरेको दुईवटा कडा प्रहार झापाका गोलरक्षक गिरीले विफल बनाएका थिए । ४२औँ मिनेटमा झापाका कर्ण लिम्बूले डिबक्सभित्रबाट गरेको प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो । खेलको म्यान अफ दी म्याच विजेता टोलीका सौजन राई घोषित भए । उनले ११ हजार पुरस्कार पाए । बिहीबारको खेल आयोजक दमक ११ र रुपन्देही ११ बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ हजार रुपैंयाँ, ट्रफी र मेडल पाउने आयोजक समितिका संयोजक केन्द्र प्रसाईले जानकारी दिए । प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । ओलीले झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने बताए । ‘११ महिनापछि सार्क गेम हँुदैछ’, ओलीले भने, ‘नेपालमा एउटा पनि रंगशाला छैन, भएको एउटा दशरथ रंगशाला पनि भुत बंगला जस्तो भएको छ, एकजना मान्छे पनि त्यहाँ जान डराउँछन् ।’ उनले दर्शकलाई आश्चर्यमा पार्ने खालको रंगशाला बनाउने दाबी गरे ।