काठमाडौं/ हाम्रो समाजमा सुन्दरता झल्काउन कानमा सानो टप, झुम्कादेखि ठूल्ठूला गरगहना लगाउने चलन छ । अझ विवाह, चाडपर्वमा त गहना मोहको होड नै चल्छ । राम्रो देखिन लगाउने यस्ता गहनाले समस्या निम्त्याएको हामीलाई पत्तै हुँदैन । रिङ, कुण्डल, झुम्का लगाउनाले कानको लोती च्यातिने र प्वाल ठूलो हुने हुन्छ।
उपचार विधि
कानको लोती पातलो छालाले बनेको हुन्छ । भित्र थोरै बोसो हुन्छ । हड्डी नभएपछि त्यसै पनि छाला कमलो हुन्छ र भारी गहना लगाउँदा लोती च्यातिने डर हुन्छ । कसैको जन्मजातै कानको लोती सानो हुन्छ भने कसैको ठूलो हुन्छ । ठूलो लोती भएका मान्छेले साना गहना लगाउँदा त्यसै बिलाए जस्तो लाग्ने भएकाले ठूला गहना लगाउँदा लोती च्यातिन सक्छ । लोती ठूलो भएकाहरुले सर्जरी गरेर सानो बनाउने गर्छन् । सानो लोती भएकाले पनि सर्जरीबाट ठूलो बनाउन असम्भव नभए पनि अलि झन्झटिलो हुन्छ ।
कानको लोती च्यातिएमा यसको सर्जरी गर्न आधा घन्टा लाग्छ । यसको उपचार नेपालमै सम्भव छ । सर्जरी गराउने व्यक्तिको चेकजाँच गरेर रगत बढी जाने समस्या छ कि छैन आदि यकिन गरेर मात्र सर्जरी सुरु गरिन्छ । छाला रोग विशेषज्ञ र प्लास्टिक सर्जन मिलेर सर्जरी गर्छन्।