भद्रपुर । काकँडभिट्टा फुटबल एकाडेमी मेचीनगर झापाको भद्रपुरमा जारी जिल्लास्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।

भद्रपुर ३ पृथ्वीनगर स्थित ज्ञानेचोक नजिकैको खेल मैदानमा विहीवार भएको पहिलो सेमी फाइनल खेलमा आयोजक सिरीजङ्गा स्पोटिङ्ग क्लव भद्रपुरलाई एकको विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै काँकडभिट्टा फाइनलमा प्रवेश गरेको हो । दुवै टिम फाइनलमा प्रवेशका लागि मैदानमा सुरुदेखि संघर्ष गरे । तर, पहिलो हाफ्को २९ औ मिनेटमा काँकडभिट्टाका पुजन उपरकोटीले गोल गर्दै टिमलाई अग्रता दिलाए । उपकरकोटीले कर्णर किकबाट प्रहार गरेको बल पोलमा ठोकिएर जाली चुमे ।

पहिलो हाफ्मा एक गोलले अग्रता लिएका काकँडभिट्टाले खेलको ६१ औ मिनेटमा थप एक गोल गरे । काँकडभिट्टाका पुजन उपरकोटीले नै गोल गरेका थिए । खेलको ६८ औ मिनेटमा सिरीजङ्गाका तर्फबाट मैदानमा उत्रिएका नाइजेरियन खेलाडी गोलेरेले एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच काँकडभिट्टाबाट प्रवेश गुरुङ्ग घोषित भए । उनलाई नगदसहत पुरस्कृत गरिएको थियो ।

सिरीजङ्गा स्पोटिङ्ग क्लवको आयोजनामा शुक्रवार हुने अन्तिम सेमीफाइनल खेल न्यु स्टार खोपबारी र चन्द्रगढी फुटबल एकाडेमी मुनाल बीच प्रतिस्पर्दा हुने आयोजक समितिका खेल संयोजक भीम लिम्बुले जानकारी दिए । बैशाख २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजार १११ र उपविजेता टिमलाई नगद ३१ हजार १११ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् ।