धरान । धरान–१५ स्थित एभरेष्ट वातावरण सामुदायिक महिला संघले निर्माण गर्न लागेको पार्कमा विभिन्न संघसंस्थाले खेल मैदान बनाउन माग गरेको भन्दै वडा कार्यालयलाई ध्यानाकर्षण गरेको छ । संघले उक्त पार्क क्षेत्रमा हरियाली पार्क तथा बाल उद्यान निर्माण गर्ने जनाएको छ । ‘खेल मैदानको लागि विभिन्न संस्थाले माग गर्दै आएका थिएँ ।’ संघकी अध्यक्ष दिलकुमारी राईले भनिन्, ‘हामीले पार्क निर्माणलाई नै निरन्तरता दिने योजना हो ।’ पार्क निर्माणको लागि धरान उपमहानगरपालिका तथा वडालाई बजेटसमेत माग गरेका छन् । २०६४ सालदेखि पार्क निर्माण गर्ने योजना अनुरूप महिला संघले घेराबारा गरेको थियो । वर्षायाममा वर्षेनी सेउतीले कटान गर्ने कारण तारजालीसमेत गर्दै विभिन्न प्रजातिका विरुवासमेत रोपेका छन् । तर, अहिले ब्याडमिन्टन, भलिबल कोर्टको लागि भन्दै विभिन्न संस्थाले माग गरेपछि वडालाई पार्क निर्माण गर्न ध्यानाकर्षण गराइएको अध्यक्ष राईले बताइन् । बुधबार धरान–१५ नम्बर वडा कार्यालयलाई ध्यानाकर्षण गराएका हुन् । यो महिलाहरूको संस्था हो ।