इनरुवा । प्रविधीमैत्री अवधारणाको सार्थकतालाई मध्यनजर गर्दै इनरुवा नगरपालिकाका वडाहरूले उक्त नीतिलाई अवलम्बन गर्न थालेका छन् । छिटो छरितो सेवा प्रवाहसँगै सहज कार्यसम्पादनलाई मध्यनजर गर्दै वडा कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधीमैत्री बनाउन थालिएको हो । इनरुवाका १० वटा वडा मध्ये १, २, ८ र १० नम्बर वडा बाहेकका ६ वटा वडा कार्यालयले पहिलो प्राथमिकताका कार्यहरूलाई अनलाइन सिस्टम मार्फत संचालनमा ल्याएका छन् । पछिल्लो पटक इनरुवा नगरपालिका वडा नम्वर ३ को कार्यालयले घटना दर्ता प्रकृया अनलाइन सिस्टम मार्फत सुरुवात गरेको छ । नगर प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतमले संयुक्त रूपमा सेवा शुभारम्भ गरे । प्रमुख प्रशासकिय अधिकृत टुबराज पोखरेल सहित नगरका वडाध्यक्ष तथा अन्य पदाधिकारीहरूको उपस्थिती रहेको कार्यक्रममा वडाध्यक्ष कालुराम गुरुङले अनलाइन सिस्टम सहित वडाले अवलम्बन गरेका नीति तथा जनमैत्री अवधारणाका बारेमा प्रस्ट्याएका थिए । इनरुवाकै नमूना वडाका रूपमा चिनिने वडा नम्वर ३ ले अन्य वडाका तुलनामा जनमैत्री सेवाको सहजता सहितको उपलब्धता र पार्दशितालाई प्रमुख प्राथमिकतामा राख्दै आएको छ ।