धरान । लागूऔषध बिक्री गर्न मोरङबाट यहाँ आएका दुई कारोबारीलाई भारी परिमाणमा लागूऔषधसहित धरान प्रहरीले शनिबार पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका–१ का ३५ वर्षीय सम्पतलाल यादव र २४ वर्षीय सन्तोष यादवलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरूका साथबाट एक सय थान लुपिजेसिक, एक सय थान एभिल र एक सय थान डाइजेल्याप बरामद गरिएको धरान इलाका प्रहरी कार्यालयका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए । यादवद्वय लागूऔषध बिक्री गर्न मोरङबाट धरान आएका थिए । शुक्रबार पक्राउ परेका प्रकाश लिम्बूलाई बारम्बार फोन गरेको आधारमा प्रहरी उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।