पाँचथर/ नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टी बिभाजित हुन्छ कि भनेर शंका नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कमिटि बैठक पछि मेची पहाडका नेता–कार्यकर्तासँग भेटघाट गर्ने क्रममा आइतबार फिदिम आइपुगेका नेता सिटौलाले काँग्रेस भित्रको बिचारको बहस पार्टीलाई बृहत एकतामा बाँध्नका लागि भएको बताए । पार्टीभित्रको बहसले काँग्रेसलाई एक ढिक्का बनाउँने नयाँ जग निर्माण हुँदैछ भन्ने सम्झन सिटौलाले कार्यकर्तालाई आग्रह गरे ।
काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पत्रकारहरु सँग कुराकानी गर्दै उनले महासमिति भेला पछि काँग्रेस देश र जनतामाँझ नयाँ ढंगले उभिने दाबि गरे । उनले निर्बाचनमा भएको हारबाट बिलचित नबन्न समेत नेता–कार्यकर्तालाई आग्रह गरे । नेता सिटौलाले एमाले–माओवादीको गठबन्धनलाई बहर गोरु र साँढे गोरुको संज्ञा दिंदै फरक पृष्ठभूमिबाट जन्मेर, फरक बाटो हिंडेर यहाँसम्म आएका दुई पार्टीले अब कसरी नयाँ बाटो बनाउँछन् हेर्न बाँकि रहेको बताए ।
उनले भने– ‘तर उहाँहरुको बाटो जंगलमा पुगेर नहराओस, मेरो शुभकामना छ ।’ बाम गठबन्धनले चलाएको सरकारको सुरुवाती दिन उति सन्तोषजनक नभएको टिप्पणी गर्दै सिटौलाले केन्द्रीय सरकारको बजेट हेरेपछि नेपाली काँग्रेसले सरकारबारे धारणा बनाउँने बताए ।