धनकुटा । धनकुटाको सांगुरीगढी गाउँपालिका ३ कुशेटार स्थित तमोर नदीको दोभानमा पौडी खेल्नेक्रममा खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव आइतबार फेला परेको छ।

एक साता अघि नदीमा पौडी खेल्नेक्रममा बगाएर बेपत्ता भएका धनकुटा चौबिसे गाउँपालिका ६ बस्ने चन्द्र सिंह राईको १४ बर्षका छोरा राम कुमार राईको शव आईतबार फेला परेको हो।

आइतबार साँझ ५ बजेतिर साँगुगढी गाउँपालिका ४ मा बालकको शव खोलामा तैरिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए।

यता खोटाङको वराहपोखरी गाउँपालिका २ धाप्लाङ स्थित सुनकोशी नदीले बगाएर तीन बाल-बालिका बेपत्ता भएका छन।

नदी किनारमा बाख्रा चराउन गएका स्थानीय १२ वर्षका सुबन श्रेष्ठ, १० बर्षका सबिन माझी र ११ वर्षकी अनिता माझीलाई खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर आइतबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय चिसापानीमा प्राप्त भएको हो।

बाख्रा चराउन गएका उनीहरु नदीमा पौडी खेल्नेक्रममा नदीले बगाएको हुन सक्ने स्थानीयले प्रहरीलाई बताए। बेपत्ता बाल-बालिकाहरुको प्रहरी र स्थानीयबाट खोजी कार्य भई रहेको छ।