शनिश्चरे, मोरङ । सुनसरीको इनरुवामा आयोजित प्राज्ञ चित्रकार जीवनाथ पोखरेलको ५ दिने एकल चरा चित्र प्रदर्शनका अवसरमा पूर्वाञ्चलका ख्यातीप्राप्त ४ जना कलाकार सम्मानित भएका छन् ।

नवयुग मल्टिपल कम्यूनिटी लर्निङ सेन्टरको आयोजनामा सम्पन्न कार्यक्रममा झापाका चित्रकार प्राज्ञ पवन राजवंशी, सुनसरीका मूर्तिकार एवम् रंगकर्मी विक्रमश्रि, चित्रकार दीपक मेहता र मोरङ पथरीशनिश्चरेकी चित्रकार सरोजा खड्गी सम्मानित भएका हुन् । उनीहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको हो ।

इनरुवा नगरपालिका प्रमुख एवम् रंगकर्मी राजन मेहताले चित्रकला प्रदर्शनीको उद्घाटन् तथा श्रष्टा सम्मान गर्दै इनरुवाको पहिचान जोड्ने त्यहाँका पहिलो प्राज्ञ पोखरेलको सम्मान स्वरुप नगरपालिकाले उनको नाममा चरा संग्रहालय स्थापना गरिदिने घोषणा गरेका छन् । चराकै मात्र चित्र वनाएर फरक पहिचान वनाएका पोखरेलको संग्रहालयका लागि यस बर्षको बजेटबाट २० लाख रकम प्रदान गरिने समेत मेहताले घोषणा गरे ।