पानवारी । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले पराजय हुनुको मूख्य कारण वाम गठबन्धन भएको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस क्षेत्र नं. १ ले धरानमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कार्कीले दुई कम्युनिष्ट पाटी एक भएर चुनाव लड्नु र कांग्रेस चाही दुई पाटी जस्तो भएर चुनावी मैदानमा गएकोले निर्वाचनमा पराजय भोग्नु परेको बताए । उनले अब पार्टी एकढिक्का भएर अगाडी बढ्नुपर्ने बेला आएको बताएका छन् । कार्यक्रममा सांसद चन्द्रप्रसाद श्रेष्ठले पराजयको कारण खोतल्दै चुनाबमा असहयोग गर्नेलाई पाटीमा फेरी सजिलै भित्राउने गरेको भन्दै विगतको कामबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए । उनले गैर कांग्रेसीहरुलाई समेत क्रियाशील सदस्यता वितरण गर्ने कार्यको अन्त्य हुनुपर्ने समेत बताएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेले अब पनि आपसी तिक्तता, मनमुटाव, प्रतिशोध र असमझदारी त्यागेर मेलमिलाप, सहमति र सहकार्यको राजनीती नगर्ने हो भने कांग्रेसीको मात्र होइन देश र जनता कै भविष्य अनिश्चित हुने बताएका थिए । कांग्रेसका क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यकर्ता भेलामा क्षेत्रीय सचिव मुरारी भट्टराई, नेता बुद्धि कटवाल, भोजपुरका महासमिति सदस्य हेमन्त मुकारुङ, क्षेत्रीय सहसचिव प्रेमकुमार राई, नगर सचिवद्धय श्याम पोखरेल, युवराज शंकर लगायतले पनि बोलेका थिए ।
भेलामा जिल्ला सदस्यहरु चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, गोविन्द बस्नेत, माधव घिसिङ, नेविसंघ केन्द्रिय सदस्य सागर प्रसाई, नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङ, नेपाल आदिवासी जनजाति संघ सुनसरी सभापति नन्दराज राई, महाधिवेशन प्रतिनिधि सन्तोष सापकोटा जनजाति संघ क्षेत्रीय सभापति तारा लामा, तरुण दल नगर सभापति हिमाल श्रेष्ठ, दलित संघ नगर सभापति गणेश परियार लगायतको कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।