इटहरी । इटहरी–२ स्थित हवाई चोकमा वातावरण तथा पर्यावरण संरक्षण केन्द्रले भैसी सुन्दरी प्रतियोगिताको आयोजना गरेको छ । हिजो शुक्रबारदेखि सुरु भएको दुई दिने सिरुवा पर्वको अवसरमा आयोजना गरिएको भैसी सुन्दरी प्रतियोगितामा ४० भन्दा बढी भैसीहरु सहभागी गराइएको छ । प्रतियोगितामा इटहरी हवाइ चोक आसपासका भैसीहरु सहभागी भएका छन् । प्रतियोगिताको विजेता राष्ट्रिय भैसी अनुसन्धान केन्द्र तरहरा र जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्राविधिकहरुले छनौट गर्नेछन् । प्रतियोगितामा पहिलो हुने भैसीलाई ११ हजार नगद सहित एकवर्षको ८० हजार बराबरको पशु बिमा हुने र क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलाई नगद रु. ९ हजार, ५ हजार, ३४ सय र २५ का साथै ८० हजार बराबरको पशु बिमा समेत पुरस्कार दिइने आयोजकले जनाएको छ । मेलामा सहभागी भैसीलाई यातायात खर्च स्वरुप प्रत्यकेलाई ३ सय उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ । हिजोदेखि सुरु भएको सिरुवा मेलामा विभिन्न समुदाय तथा जातजातिका लोप हुदै गइरहेका घरेलु सामाग्रीहरुको पनि प्रदर्शन गरिएको इटहरी स्थित ब्लाष्टकर्मीले जानकारी दिएका छन् ।