पानवारी । झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौ वार्षिकोत्सवको अवसरमा आयोजित फुटसल कस्मेटीक टिमले जितेको छ । अन्तर शेयर सदस्य फुटसल प्रतियोगितामा झरना बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुको विभिन्न १२ वटा टिमको सहभागीता रहेको थियो भने प्रतियाेगिता धरान–१८ स्थित बुढासुब्बा फुटसलमा सम्पन्न भएकाे थियाे । प्रतियोगिताको विजेता कस्मेटीक टिमलाई नगद रु २५ हजार सहित ट्रफि, प्रमाण पत्र तथा मेडल पुरस्कार दिइएको थियो भने उपविजेता भएको होटल व्यवसायीको ए टिमलाई नगद रु १३ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र दिइएको थियो । फाइनलमा कस्मेटीक टिमले होटल व्यवसायीलाई ८–२ अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको बेष्ट प्लेयर कस्मेटीकका अनुप शंकर घोषित भएका थिए भने बेष्ट गोल किपर कस्मेटीककै सुजन श्रेष्ठ घोषित भएका थिए । दुवैलाई ट्रफि पुरस्कार दिइएको थियो । यस अघि धरानका पत्रकार र झरना सहकारीका सञ्चालकबीच भएको मैत्रीपूर्ण खेलमा पत्रकार टिम ५–१ गोल अन्तरले विजयी भएको थियो । झरना बचत तथा ऋण सहकारी संस्थाको आठौ वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिताको साथै संस्थापकहरुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष विष्णुकुमार राईले बताए । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले केक काटेर गरेकी थिइन् । प्रतियोगिताको विजेतालाई प्रतियोगिता संयोजक केदार कार्की, संस्थाका अध्यक्ष विष्णुकुमार राई, व्यवस्थापक मानबहादुर मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।