पानवारी । एन्फामा नयाँ पदाधिकारीहरु चुनिएर आएपछि पहिलो बैठकबाट सातै प्रदेशमा एन्फा एकेडेमी सञ्चालन गर्ने निर्णय गरेअनुसार धरानमा रहेको एन्फा यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ । एकेडेमीको अवस्था बुझ्न एन्फाका केन्द्रीय उपाध्यक्षसहितको टोलीले धरान आइपुगेर निरीक्षण गरेको हो । करिब ४ वर्ष अघिबाट बन्द रहेको एन्फा एकेडेमी पुनः सञ्चालन गर्नको लागि अध्ययन गर्न केन्द्रीय उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित केन्द्रीय सदस्य तथा एन्फाका प्रवक्ता किरण राई र इञ्जिनियरको टोलीले बुधबार एन्फा एकेडेमीको भवन, आवास तथा खेलमैदानको निरीक्षण गरेको हो । अनुगमन गरिसकेपश्चात् पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता राईले धरानको एकेडेमी यसैवर्ष सञ्चालनमा आउन सक्ने बताए । उनले भने –‘भौतिक पूर्वाधार निर्माण गर्नु नपर्ने मर्मत–सम्भार मात्र गर्दा पुग्ने भएकोले यसै वर्ष सञ्चालनमा आउन सक्छ ।’ एकेडेमीमा सुरक्षा चुनौती र आन्तरिक व्यवस्थापन भने अलि जटिल देखिएको भन्दै कम्पाउण्ड घेराबारा राम्रो नभएकोले त्यसलाई राम्रो बनाउनुपर्ने बताए । एन्फाका केन्द्रीय उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङले चुनावको बेला गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न धरान आइपुगेको बताए । उनले भने –‘सातैवटा प्रदेशमा एकेडेमी सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत यसवर्ष फिफाले १ लाख ५० हजार डलर बजेट दिएकोले यसवर्ष धरान, च्यासल र बुटवलमा एन्फा एकेडेमी सञ्चालन गर्ने बारे छलफल चलिरहेको छ ।’ फुटबलमा शुद्धीकरण हुनुपर्ने भन्ने अभियानमा सुनसरीले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै नेम्बाङले अनुगमनका साथै सुझाव लिन विभिन्न जिल्लामा आफू पुगिरहेको बताए । सोही अवसरमा एन्फाका मानार्थ उपाध्यक्ष तथा एकेडेमी संयोजक किशोर राईले धरानमा एन्फा सञ्चालनको निम्ति योजनासहितको प्रस्ताव–पत्र समेत हस्तान्तरण गरेका छन् । एन्फा उपाध्यक्ष नेम्बाङलाई उक्त प्रस्ताव–पत्र हस्तान्तरण गर्दै राईले एन्फामा धेरै वर्षपछि योजना र एजेण्डा बोकेको टिम आइपुगेको बताए । बुधबार बुझाएको प्रस्तावमाथि छलफल गरेर चाँडो निष्कर्षमा पुग्नसमेत राईले सुझाव दिएका छन् । उनले भौतिक तथा नैतिकरुपमा जिल्ला बलियो नहुन्जेलसम्म एन्फा बलियो नहुने भन्दै एन्फाको टिमलाई तत्काल जिल्ला लिगको घोषणा गर्न समेत माग गरे । राईले जिल्ला– जिल्लामा आफ्नो तरिकाले फुटबलको विकासमा लाग्न छुट्टाछुट्टै योजना बनाइनु पर्ने भन्दै अब पनि फुटबलको विकासको लागि २० वर्षसम्म पर्खन नसकिने र यो समितिले आफ्नो कार्यकालमा फुटबलमा कायापलट गर्न सक्नुपर्ने बताए ।