पानवारी । विश्वकप फुटबल नजिकिदै जाँदा बजारमा जर्सीको व्यापार बढेको बढ्यै छ । विश्वकप फुटबलको महासंग्राम सुरु हुन अब मात्र ३ दिन बाँकी छ ।

सहरका सडकमा अहिले विभिन्न विश्वकपमा सहभागी आफ्नो मनपर्ने टिमको जर्सी लगाएर हिड्नेको भिड देखिन थालिसकेको छ । विश्वकप फुटबलले अहिले विश्वको ध्यान खिचेको छ । विश्वकै लोकप्रिय खेलको रुपमा रहेको फुटबल र फुटबलमा पनि विश्वकप विश्वभरी नै प्रख्यात छ ।

अहिले व्यापारीहरुले विश्वकपलाई नै हेरेर फुटबलको जर्सी, झण्डा, ब्यानर लगायतका सामानको व्यापार गरिरहेका छन् । धरानमा विगत ३० वर्ष अगाडीदेखि खेलकुदका सामाग्रिको व्यापार गर्दै आएको मेहर कलेक्सनमा यसवर्ष मात्रै विश्वकपलाई मध्यनजर गर्दै १२ लाख भन्दा माथिको जर्सी आयात भएकोे छ भने आउने क्रम जारी छ । मेहर कलेक्सनका सञ्चालक मेहरलाल श्रेष्ठका अनुसार जर्सीको व्यापार अहिले ५ गुणाले बढेको छ ।

त्यस्तै धरान–९ स्थित एभरग्रिन कलेक्सनका सञ्चालक पवन शर्माले पनि जर्सीको व्यापार राम्रो रहेको बताए । मिनि ब्राजिल भनेर चिनिने धरानमा फुटबलका फ्यानहरु धेरै छन् । मिनि ब्राजिल भनेर धरानलाई चिनिए पनि धरानमा अर्जेन्टिनाका फ्यानहरु बढी देखिएको छ । बजारमा अर्जेन्टिनाको जर्सी धेरै विक्रि भएको व्यापारीहरुले बताएका छन् । व्यापारी मेरहमान श्रेष्ठका अनुसार सबैभन्दा बढी अर्जेन्टिना र त्यसपछि क्रमशः ब्राजिल, जर्मन, जापान, पोर्चुगल र स्पेनका जर्सी विक्रि भएको छ । त्यस्तै व्यापारी पवन शर्माले पनि अर्जेन्टिनाको जर्सी खोज्ने धेरै आउने गरेको बताए ।

बजारमा अहिले ७ सयदेखि १५ सय रुपैयासम्मका जर्सीहरु पाइन्छ । बच्चाको लागी भने ६ सयमा पनि जर्सी आउने श्रेष्ठले बताए । अहिले खेलाडीका फ्यानहरुले आफ्नो मनपर्ने खेलाडीको तस्बिर प्रिन्ट गरेर पनि जर्सी किन्ने गरेका छन् । विशेष गरी मेस्सी, रोनाल्डो र नेइमारका फ्यानहरुले प्रिन्ट गरेर पनि जर्सी किन्ने गरेको मेहर कलेक्सनका सञ्चालक श्रेष्ठले बताए ।

अहिले अल्टरनेट करलका जर्सीको विक्रिी पनि उत्तिकै बढेको छ । धरानको एक पसलमा अल्टरनेट जर्सी किन्दै गरेका एक युवाले भने–‘धेरैले रेगुलर कलर लगाएर हिड्छन् उनीहरु भन्दा फरक देखिन र रेगुलर कलर पहिला नै आफसँग भएकोले गर्दा अल्टरनेट कलर किनेको हो ।’ त्यसो त अहिलेका युवा पुस्ताले आफुलाई मात्र नभई श्रीमती र छोरा छोरीलाई समेत जर्सी किनेर लाने गरेको व्यापारी श्रेष्ठले बताए ।

धरानमा खेलकुदकै जर्सी बेच्ने स्पेशल पसलहरुले २ महिना अघिदेखि विश्वकपको जर्सी ल्याएर बेच्न सुरु गरेका हुन् भने कपडा पसललेले भने बजारमा जर्सीको माग उच्च भएपछि मात्र मगाउन थालेका छन् । धरान–२ स्थित देशि लाइनमा कपडाको व्यवसाय गर्ने एक व्यवसायीले जर्सी बजारमा नपाएर ब्ल्याकमा ल्याएर भएपनि पसलमा राखिएको बताए ।

जापानको जर्सी पनि विक्री हुन्छ

एसियाबाट विश्वकप खेल्ने देशहरु मध्ये धरानमा जापानको जर्सी धेरै विक्रि हुने गरेको छ । अघिल्लो विश्वकपमा जापानीज खेलाडी केइसुकी होण्डाले गरेको प्रदर्शनले पनि जापानका समर्थक बढेको धरान–१५ का दिनेश राईले बताए ।

झण्डाको व्यापार बढ्दो

फुटबलका फ्यानहरुले अहिले झण्डा किनेर आफ्नो सवारी तथा घर, बेडरुम तथा पसलमा झण्डा राख्ने नयाँ चलन आएको छ । अघिल्लो विश्वकपमा पनि झण्डाको व्यापार हुन्थ्यो तर अहिले सानो आकारमा आएको झण्डाको व्यापार बढ्दो छ । त्यस्तै ३२ वटै देशको झण्डा भएको तोरणको पनि व्यापार बढेको छ । खासगरी यस्ता तोरण आफ्नो घरमा राख्ने, पसलमा, चोक चोकमा राख्ने चलन बढेको हो ।

डमि ट्रफिको माग पनि धेरै

फ्यानहरु यस्ता पनि हुन्छन् जो विश्वकप ट्रफि समेत लगेर आफ्नो घरमा सजाउन चाहान्छ । किनेरै भएपनि विश्वकप ट्रफि घरको सोकेसमा सजाँउन सौख भएका फ्यानहरुले ट्रफि माग गरेकाले आफुले अर्डर गरी विश्वकपको डमि ट्रफि मगाएको व्यापारीले बताएका छन् ।