शनिश्चरे, मोरङ (ब्लाष्ट) । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि प्रत्येक वडामा ८५ लाखको बजेट सिलिङ तय गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा वुधवार बसेको कार्यपालिकाको बैठकले नगरका १० वटा वडाका लागि ८५ लाख रुपैयाँ बराबरको बजेट तय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले वताए । असार १० गतेसम्ममा नीति, कार्यक्रम तथा बजेट ल्याइसक्नु पर्ने प्रावधान अनुरुप वडातह र नगरतहमा विषयगत वजेट बाँडफाँडको छलफल जारी रहेको उनले उल्लेख गरे । भौतिक पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, वातावरण र सुशासनका विषयगत पक्षलाई हेरेर वजेट विनियोजन गर्ने तयारी भइरहेको छ ।
यसैवीच, वुधवार नै महिला जनप्रतिनिधिको अगुवाईमा नगरका अगुवा महिलाहरुको भेलाले महिला तथा वालवालिकाका क्षेत्र बजेट निर्माणका सम्वन्धमा वडा वडाबाट योजनाका बारेमा छलफल भएको छ ।
वडाका महिलाहरुले उद्यमशीलताका लागि ढाका तान सहितका उद्योग स्थापना, सीपमुलक तालिम, नगरपालिकामार्फत महिला समिति, महिला हिंसा निवारण, महिला तथा बालबालिकाको सृजनशीलता लगायतका विषयमा बजेट वनाउनु पर्ने सुझाव सहितको योजना टिपोट गराएका छन् । साथै उनीहरुले महिलाहरुका लागि आवश्यक महिला पुनस्र्थापना गृह ( सेफ हाउस) निर्माणको कुरामा समेत जोड दिएका छन् ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा भएको भेलामा वास्तोलाले महिलाहरुलाई उद्यमी वनाउँदै स्वनिर्भरता एवम् महिला सशक्तीकरणका लागि अग्रसर गराउने बजेटमा प्राथमिकता दिन कार्यपालिका बैठकमा जोड दिने वताइन् । उनले महिलाको चेतना, सीप विकाससँगै आर्थिक क्रान्तिको पाटोमा डोर्याउन आवश्यक रहेको जनाइन् ।
भेलामा आमन्त्रित नगर प्रमुख राईले महिला तथा वालवालिका पक्षको संवेदनशीलतालाई ध्यानमा दिएर वजेट विनियोजन हुने जनाए । नगर प्रवक्ता यामप्रसाद गुरागाईं, महिला तथा वालवालिका शाखा प्रमुख गीता कट्टेलले पनि महिलाको चेतना र व्यवसाय प्रवद्र्धनका योजना अघि सार्नुपर्ने धारणा राखेका छन् । एकल महिला सुरक्षा कोष, हिंसापिडीत महिला राहत कोष, आपतकालिन महिला उद्धार कोषको व्यवस्था गर्नुपर्ने सरकारले प्रावधान ल्याएको कुरा पनि छलफलमा उठेका छन् । सो अवसरमा ओरेक नेपालकी प्रतिनिधि खेमकुमारी दहाल, नगर महिला सञ्जालकी अध्यक्ष चन्द्रकला चेम्जोङ, नगर कार्यपालिका सदस्य अरुणा राई र मैनादेवी आचार्यले महिलाको सर्वाङ्गिण विकासको पक्षमा वजेट निर्माणको आवश्यकतामा जोड दिएका छन् ।