भद्रपुर । प्रदेश नम्बर १ का सङ्घीय मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नेपालकै दोस्रो पुरानो नगरका रुपमा रहेको भद्रपुर नगरपालिकालाई उठाउन प्रदेश सरकारको ध्यान केन्द्रीत भएको जनाएका छन् । भद्रपुर नगरपालिकाले आइतबार आयोजना गरेको दोस्रो नगर सभालाई सम्बोधन गर्दै कानुन मन्त्री कार्कीले पूर्वी क्षेत्रको व्यापारिक द्धार,शान्ति र समृद्धिसहितको भद्रपुर शहर भन्ने नगरको नारालाई पुरा गर्न प्रदेश सरकार साथमा रहेको आश्वासन दिएका छन् । परापुर्वक देखि भनिदै आएको मृत शहर अब जागेर नेपालकै नमुना नगरको रुपमा रहने उनले ठोकुवा गरेका छन् । निर्वाचित भएसगै नयाँ अनुभव,नयाँ अभ्यास ,हेर्दै सिक्दै गइरहेकोले सवैको सल्लाह र सुझाव लिएर अघि बढ्नुको विकल्प नभएकोले थालनीमा केही समस्या आएको उनको कथन थियो । भद्रपुरको लागि संसदमा केही महत्वपूर्ण कुरा उठाइसकेकोले अब यो शहरमा सरकारको अर्जुन दृष्टि परिसकेको उनले जनाए । भद्रपुर क्षेत्रभित्र रहेको चर्चित मेची पुल निर्माण सम्पन्न भइसकेपनि सुचारु नभएको विषयमा तत्काल अनुगमन गरेर टुङ्गोमा पुर्याइने जनाएका छन् । हुलाकी सडकलाई अबको दुइवर्षभित्र कालो पत्रे गराई भद्रपुरबाट विराटनगर सम्मको यात्रा सहज गराउने उनले बताए । केही दिन भित्र अनुगमन गरेर यस्को निश्कर्षमा पुग्न पहिलो प्राथमिक्तामा राखेको उनको भनाइ छ । मेची अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न अध्ययन अघि बढाइएको समेत उनले जानकारी गराए । सरकारले लगानी गरेको मेची बहुमुखी क्याम्पसलाई कुनै प्राविधिक विषयको महत्वपूर्ण केन्द्रको रुपमा शैक्षिक केन्द्र रहने गरिको अवधारणा शुरु गरिएको उल्लेख गरे । पूर्वाञ्चल ग्रामीण विकास प्रशिक्षण केन्द्र कलवलगुरीलाई नयाँ प्रशिक्षण केन्द्रको रुपमा बनाइने धारणा राखेका थिए । सुधारोन्मुख रहेको चन्द्रगढी विमानस्थललाई थप सेवा विस्तारका लागि समन्वय भइरहेको बताए । भद्रपुरमा रहेका यस्ता महत्वपूर्ण स्थानलाई अबको सरकारले विकासको अनुभुति हुने गरि काम गर्ने समेत उनले आश्वासन दिएका छन् । नगरबाट जुनसुकै विषय वस्तुको योजना बनाएर ल्याएमा प्रदेश सरकारले दिने रकम अपुग भएपनि केन्द्रबाट समन्वय गरेर अघि सारिएका योजना विफल हुन नदिने उनको भनाइ थियो । नगर प्रमुख जीवन कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।