पाँचथर । फिदिम नगरपालिकाले आर्थिक बर्ष ०७५÷७६ का लागि करीब ६४ करोडको बजेट सार्बजनिक गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा आइबार सम्पन्न नगर सभामा उपमेयर उर्मिला प्रधान श्रेष्ठले ६३ करोड ९० लाख ३४ हजार रुपैँयाँको अनुमानित बजेट सार्वजनिक गरिन् । बजेट अन्तर्गत नगरपालिकाको मौज्दात नगद ७ करोड रुपैंयाँ रहेको छ । संघको वित्तिय समानीकरण तर्फ १५ करोड दुई लाख ६५ हजार, प्रदेश वित्तिय सामानीकरण तर्फ ३९ लाख ९३ हजार, बहुक्षेत्रीय पोषण तर्फ १८ लाख ९० हजार रुपैंयाँ रहेको छ । शसर्त अनुदान तर्फ २८ करोड १३ लाख, राजस्व बाँडफाँड तर्फ ९ करोड ८५ लाख ८६ हजार, आन्तरिक आय तर्फ ३ करोड ३० लाख गरी जम्मा ६३ लाख ९० हजार ३४ रुपैंयाँको अनुमानित बजेट प्रस्तुत गरिएको हो । बजेटमा भौतिक पूर्वाधार बिकासलाई प्राथमिकता दिइएको छ । सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा ३५ प्रतिशत बजेट बिनियोजन गरिएको छ । सामाजिक क्षेत्रमा ३० प्रतिशत, आर्थिक क्षेत्रमा २० प्रतिशत, संस्थागत बिकासमा १० प्रतिशत र विपद ब्यवस्थापनमा पाँच प्रतिशत रकम बिनियोजन गरिएको बजेट सार्बजनिकिकरणको क्रममा उपमेयर श्रेष्ठले बताइन् । नगर सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै पाँचथरबाट प्रतिनिधिसभा सदस्य वशन्तकुमार नेम्बाङले समग्रमा बजेट, नीति तथा कार्यक्रम उत्कृष्ठ रहेको बताए । नेम्बाङले बजेटको कार्यान्वयनमा सबै पक्ष र क्षेत्रबाट सहयोग पु¥याउँन आग्रह गरे । फिदिम नगरपालिकाको तेस्रो नगरसभा मेयर ओनाहाङ नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।