पाँचथर । डिजेलको ड्रममा पानी मिसावट भएको पाइएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका र कुम्मायक गाउँपालिका जोड्ने उत्तरे–यासोक सडक खण्ड ‘ख’ को स्तरोन्नतीको काममा प्रयोग गरिएको डिजेलमा पानी मिसावट भएको पाइएको हो । उन्नती समावेशी बिकास कार्यक्रम मार्फत उक्त सडकको खण्ड ‘ख’ अन्तर्गतको साँढे चार किलोमिटर सडक स्तरोन्नतीको काम उपभोक्ता समिति मार्फत भइरहेको छ । सडक स्तरोन्नतीमा प्रयोग गरिएको स्काभेटर केही दिनदेखि आफैं स्लो हुने समस्या देखिएपछि आइतबार फिल्डर प्रयोग गरी डिजेलको ड्रम जाँत गर्दा पानी भेटिएको उपभोक्ता समितिका सदस्य बीर्जहाङ आङदेम्बेले बताए । समितिले उक्त डिजेल फाल्गुनन्द गाउँपालिका–६, मेहेलबोटेका खगेन्द्र रिजाल मार्फत ल्याएको थियो । हालसम्ममा १७ ड्रम डिजेल प्रयोग गरिएको सदस्य आङदेम्बेले बताए । स्काभेटरमा खराबी देखिएपछि शंका लागि पानी र तेल छुट्याउँने फिल्डर प्रयोग गरी जाँच गर्दा झण्डै २० प्रतिशत पानी भेटिएको स्काभेटर चालक मनोज लिम्बूले बताए । लिम्बूका अनुसार डिजेलको एउटा ड्रम खोलेर जाँच गर्दा त्यतिका मात्रामा पानी भेटिएको हो । अन्य ड्रमको भने जाँच गर्न बाँकि रहेको बताइएको छ । यता डिजेल उपलब्ध गराउँने रिजालले भने झापाको गणेश पेट्रोल पम्पदेखि उक्त डिजेल ल्याइएको र नयाँ धोइएको ड्रममा थोरै पानी भेटिन सक्ने प्रतिक्रिया दिए ।