चतरा । वराहक्षेत्रको चतरामा डम्पिङ साइडको उचित व्यवस्था नहुँदा नगरपालिकाको वडा नं. १ र २ जोड्ने गौरी खोला नै डम्पिङ साइडका रुपमा प्रयोग हुँदै आएको छ । खोला डम्पिङ साइड भएपछि प्रदूषण बढेको छ । स्थानीयकै लापरबाहीका कारण खोला डम्पिङ साइडको रूपमा परिणत भइरहेको शंकर शाह बताउँछन् । खोलामा बजारवासीले फोहोरमैला फाल्नाले दुर्गन्धित भई समस्या परिरहेको शाहले बताए । शाहको घर खोलाकै किनारमा छ । उनी भन्छन्, ‘खोलामा त फोहोर फाल्छन्(फाल्छन् तर मेरो घरकै छेउमा पनि फोहोर फालेर समस्या भइरहेको छ ।’ खोला छेउको जमिन शाहको नमबरी जग्गा हो । फोहोर फालिँदा खोला प्रदूषित त भएकै छ । कुहिने नकुहिने फोहोरका कारण हैजा फैलिएला भन्ने डर छ । खोला छेउछाउका स्थानीयले प्रदूषण बढी रहेको भन्दै स्थानीय सरकारले खोलामा फोहोर फाल्न प्रतिबन्ध लगाई डम्पिङ साइडको व्यवस्था गरिदिनु पर्ने माग गरेका छन् । खोलामा अहिले स्थानीयका घरघरबाट ल्याइएका फोहोर, होटलबाट निस्किएका फोहोर, बङ्गुर, खसी र कुखुराका भुत्लाहरू देख्न सकिन्छ । गौरी खोलामा मात्रै नभएर अहिले यहाँस्थित खोला स्थानीयका फोहोर फाल्ने ठाउँ बन्दै गएका छन् । वराहक्षेत्र नगरपालिकाका बजारसँग जोडिएका प्राय सबै खोला डम्पिङ साइडका रूपमा प्रयोग हुँदै आएका छन् । दिउँसो मान्छे हिँड्दा फोहोर नफाले पनि रातको समय पारेर खोलामै फोहोर फाल्ने स्थानीयको प्रवृत्ति छ । यसरी नै दैनिक रूपमा खोलामा फोहोर फालिने हो भने त्यही फोहोरबाट उत्पन्न हुने रोगबाट स्थानीय बिरामी पर्न सक्ने स्थानीय स्वास्थ्यकर्मी बताउँछन् । ‘खोलामा फोहोर फाल्ने क्रम यसरी नै जारी रहे फोहोरबाट उत्पन्न हुने रोगको संक्रमण बढ्न सक्छ । यो महामारीका रूपमा पनि फैलन सक्छ ।’ स्थानीय वान्तावा क्लिनिककी एचए सीता राई भन्छिन् । फोहोर व्यवस्थापन गर्ने विषयमा सोचिरहेको वराहक्षेत्र(२ का अध्यक्ष हरिकृष्ण भट्टराइ बताउँछन् । ‘सर्वप्रथम त नगरबाट यसका लागि ५(६ वटा ट्याक्टरको व्यवस्था मिलाइनु पर्छ,’ वडाध्यक्ष भट्टराईले भने, ‘तत्काल फोहोरमैला व्यवस्थापनका लागि चाहिँ यहाँका जङ्गलमा व्यवस्था मिलाउने विचार गरेको छु ।’ उनले स्थायी र उचित डम्पिङ साइडको व्यवस्थापनका लागि चाँडै मिलाउने बताए । वराहक्षेत्र नगरपालिकाको वडा नं. १ मा ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रहरू पर्छन् । आन्तरिक तथा वाह्य पर्यटकको पहिलो दृष्टिकोण सफासुग्घरबाट निर्माण हुन्छ । तसर्थ फोहोरमैला व्यवस्थापनमा स्थानीय सरकारले बढी नै चासो दिनु पर्छ ।