बेलबारी । स्थानीय तहले उपभोक्ता हित संरक्षण कार्य विधि निर्माण गरे पनि कार्यान्वयन नहुँदा उपभोक्ता मारमा परेका छन् । नापतौल, खाद्य वस्तुलगायत अन्य उपभोक्ताले उपभोग गर्ने सबै वस्तुहरु पारदर्शी र शुद्ध हुनुपर्ने कार्यविधिमा उल्लेख छ । तर कानुनमा उपभोक्ताहरुको पर्याप्त अधिकार हुँदा हुँदै पनि सरोकारवाला निकायले कार्यविधिको कार्यान्वयन नगर्दा उपभोक्ताहरु ठगिने क्रम बढेको हो । बजारमा छ्यापछ्याप्ती आँप बिक्री भए पनि त्यसको गुणस्तरबारे परीक्षण हुन सकेको छैन । कार्वाइड नामक रसायन प्रयोग गरेर पकाइने यस्ता आँपहरु स्वस्थकर नभएको पोषणविद्हरुको तर्क छ । आँपलाई छिटो पकाउन कार्वाड नामक रसायन हाल्ने गरेको पोषणविद् केपी लम्साल बताउँछन् । भारतबाट आयतित आँपमा सबैभन्दा बढी यस्तो रसायन प्रयोग भएको पाइन्छ । आँपमा प्रयोग हुने कार्वाइड मानव स्वस्थ्यमा हानी गर्ने स्वास्थ्यकर्मी बताउँछन् । आँप कति स्वस्थ्यकर छन् भन्ने विषयमा उपभोक्ता हित संरक्षण समितिहरुले बजार अनुगमन गरेको पाइदैन । शुद्ध खाद्यवस्तु खानु उपभोक्ताको अधिकार हो । कार्यविधि अनुशार अस्वस्थ्य खाद्य वस्तु विक्री गर्नु अपराध सरह मानिन्छ । तर उपभोक्ताहरुमा उपभोक्ता अधिकार सम्वन्धि चेतनाको अभाव र सम्वन्धित निकायले नियमन नगर्दा अहिले विभिन्न पक्षबाट उपभोक्ताहरु ठगिदै आएका छन् । बेलबारी नगरपालिकाले बेलबारी बजार अनुगमनको तयारी गरिरहेको नगरका उपमेयर ढाका पराजुलीले बताइन् । उपभोक्ता हितको विषयमा आवश्यक सल्लाह गरी बजार अनुगमन टोली मार्फत अनुगमन गर्ने पराजुलीले बताइन् । ‘उपभोक्ता हित संरक्षण कार्यविधि र समिति निर्माण गरिसकेका छौं । यसलाई नीतिगत रुपमा बजार अनुगमन बारे प्रशिक्षण लिएर यसलाई निरन्तरता दिने छौं ।’ उनले भनिन् । सुन्दरहरैंचा नगरपालिकाले उपभोक्ता हित संरक्षण कार्यविधि बनाई नसकेको उपप्रमुख धना तामाङले बताइन् ।