बेलबारी । बेलबारी नगरपालिकाले नगरलाई भर्खरै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेको छ । नगरलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा संगसंगै शौचालय नबनेको घरको नक्सा नगरपालिकाले पास नगर्ने निर्णय भएको छ । अब बेलबारीमा नयाँ घर बनाउदा सुरुमै शौचालय नक्सा बनाउनु पर्ने नीति नगरपालिकाले नगरपरिषदबाट पास गराएको छ । शौचालय बनाएपछि मात्रै घरको नक्सा पास गरिने प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताए । बेलबारी नगरपालिकाको १२ हजार ८ सय ९२ घर धुरी रहेको छ । प्रत्येक घरमा शौचालय बनिसकेको कारण नगरलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको नगरपालिकाले जनाएको छ । शौचालय विनाको घरमा नगरले दिने सेवा सुबिधा समेत रोक्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले शौचालयको फोटो खिचेर ल्याए मात्रै घरको नक्सा पास गरिने नगरपालिकाका प्रवक्ता योगेन्द्र सुबेदीको भनाई छ । त्यसैगरी नगरपालिकाले नगरलाई हरितनगरीको रुपमा विकास गर्न कालोपत्रे गरिएको सडक किनारामा अनिवार्य विरुवा रोप्ने कार्यक्रम अगाडि सारेको छ । अब बन्ने नयाँ घर संगसंगै विरुवा पनि अनिवार्य रोप्नुपर्ने नगरपालिकाले नीति ल्याएको छ । वातावरण र सौदर्यको लागि रुख विरुवाहरु महत्त्वपूर्ण रहेको हुँदा यस अभियानमा सहयोग गर्न नगरपालिकाले आह्वान पनि गरेको छ ।