इटहरी / नेपाली काङ्ग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले पाँच वर्षका लागि निर्वाचित भएको ओली सरकारको रवैया देखेर जनता वाक्क भएको दाबी गरेका छन् । ओली सरकारले जनताको कामभन्दा पनि आश्वासन मात्र बाँड्दा जनता दिक्क भइसकेको बताए । नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले पाँच वर्षको लागि निर्वाचित भएर आएको ओली सरकार जनतालाई सेवा सुविधा र विकास निर्माणमा केन्द्रित नभई अधिनायकवाद र भ्रष्टाचारमुखी भएको बताए । शान्ति–सुरक्षाको अवस्था हेर्दा सरकार असफल भइसकेको उनको आरोप थियो । कर बढाउन र भ्रष्टाचारीलाई प्रश्रय दिनेदेखि एयरलाइन्स प्रकरणमा जहाज खरिद गर्दा बिचौलिया हाबी भएको बताउँदै नेता महतले प्रतिपक्षको भूमिकामा काङ्ग्रेसले आन्दोलनसमेत गर्दै आएको दाबी गरे । उनले पार्टीलाई सुदृढ बनाउन काङ्ग्रेस गाउँ–गाउँमा जान थालेको उनले बताए ।
व्यक्तिमुखीभन्दा पनि सङ्गठनमुखी बनाउँदै काङ्ग्रेसलाई सक्रिय बनाउने उनको भनाइ थियो ।