विराटनगर/ विराटनगर – १४ जतुवास्थित घरघरमा पाइपबाट पुर्याएको बायो ग्यासको औपचारिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको १३ दिनपछि आपूर्ती बन्द भएको छ । ग्यास प्लाण्ट स्टेबलाइजर बिग्रिएर भोल्टेज नपुगे र मर्मत कार्य भइरहेकोले आपुर्तिमा बन्द गरिएको हो ।

२०४४ सालमा स्थापना भएको गौसेवा सदनमा वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको संयोजन र विश्व बैंकको सहयोगमा १ करोड ५० लाखको लागतमा निर्माण भएको बायो ग्यास प्लाण्टनको औपचारिक उद्घाटन भदौ ५ गते प्रधानमन्त्री ओलीले गरेका थिए । प्रधानमन्त्रीले उद्घाटन गरेको १३ दिनपछि आपूर्ती बन्द भएको स्थानिय बताउँछन् । पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास आपुर्ति हुँदै आएको थियो ।

विराटनगर – १४ की संगितादेवी गुप्ताले भदौ १८ गते रातीबाट ग्यास आपुर्ति बन्द भएपछि समस्या भएको जानकारी दिइन् । ग्यास नियमित रुपमा नआइदिदा समस्या आएको उनले बताइन् । ‘पाइपबाट भान्छामा नै ग्यास आइसकेपछि सिलिण्ड फर्काएको थिए,’ उनले भनिन्, ‘पाइपबाट घरमा आएको बायुग्यास आपूर्ती केही साताको लागि बन्द भएको जानकारी आएपछि पूनः खरिद गरेर ल्याएको छु ।’ स्थानीय रीनादेवी मिश्रले प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको तीन दिनपछि ग्यास आपुर्तिमा समस्या हुँदै आएको र भदौ १८ गतेबाट पूर्णरुपमा ठप्प भएको बताइन् ।

जिल्ला समन्वय समितिका वातावरण तथा उर्जा अधिकृत ज्ञानेन्द्र सिंहले स्टेपलाइजर बिग्रिएपछि ग्यास आपुर्तिमा समस्या भएको बताए । स्टेबलाइजरको एक फेज जलेको र त्यसको मर्मतकार्य भइरहेको उनले बताए । एक साता भित्रमा सबै समस्याको सावधान भएर सहज रुपमा आपूर्ती हुने उनले जानकारी दिए । ग्यास प्लाण्टबाट पाइपमा ग्यास पठाउनका लागि कंप्रेसर मशीन चलाउन भोल्टेस नपुगेर पनि नियमित ग्यास आपुर्तिमा समस्या भएको सिंहले बताए । ‘नियमित ग्यास आपुर्तिका लागि न्यूनतम ३ सय ४० भोल्ट विद्युत आवश्यक हुन्छ,’ उनले भने, ‘अहिले २ सय २० सम्ममात्रै विद्युत रहन्छ । भोल्टेज समस्या समाधान गर्नका लागि जिल्ला समन्वय समितिले जेरनेटर दिने भएको छ,’ उनले भने । दोस्रो जिल्ला सभाबाट पास भएको र त्यो आउने बितिकै विद्युतको समस्या समाधान हुने उनले बताए ।

गौसेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले महानगरपालिका क्षेत्रमा विद्युत पोल सार्ने काम भइरहेकोले दिनभरिसम्म लाइन नहुनु र लाइन भएको समयमा भोल्टेज नहुनुले नियमित ग्यास आपुर्तिमा समस्या भएको बताए । उनले स्टेबलाइजर इलेक्ट्रोनिक्स सामान भएकोले बिग्रिनु ठूलो समस्या नभएको र त्यसको मर्मत गर्ने काम ग्यास प्लाण्ट निर्माण कम्पनीका प्राबिधिकले गरिरहेको बताए । उनका अनुसार बाँकी रहेको ४८ घरमा पाइप ओछुयाएपछि एकै पटक नियमित ग्यास आपुर्ति गर्ने योजना बनाएको बताए ।