घण्टाघर । नेपाल राहत शिक्षक केन्द्रीय समितिको तीन दिने आन्दोलन र शैक्षिक हड्तालका कारण सुनसरीका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको छ । चार बुँदे माग राख्दै समितिले आन्दोलन थालेको नेपाल राहत शिक्षक जिल्ला समिति सुनसरीका सचिव दिलीपकुमार चौधरीले जानकारी दिए । बन्दको पहिलो दिन मङ्गलबार सामुदायिक विद्यालयमा पठनपाठन बन्द रह्यो । धरानका पब्लिक हाइस्कुल, शिक्षा निकेतन मावि, शिक्षा सदन मावि, ल्याबोरेटरी मावि, ज्ञानोदय माविलगायत सुनसरीका सबै विद्यालयको पठनपाठन बन्द भएको चौधरीले जानकारी दिए । केन्द्रीय समितिका अनुसार सबै स्थानीय तहका सामुदायिक विद्यालयको पठनपाठन तीन दिनसम्म बन्द गर्ने कार्यक्रम छ । भदौ २६, २७ र २८ गते तीन दिन देशभरका सबै सामुदायिक विद्यालय बन्द गराउने निर्देशनअनुसार जिल्लाका विद्यालय बन्द आह्वान गरिएको चौधरीले बताए । ‘शान्तिपूर्ण आन्दोलनले सरकारको ध्यान नखिचेपछि तेस्रो चरणको आन्दोलनअन्तर्गत यस्तो कार्यक्रम गरिएको हो’, उनले भने, ‘तीन दिनपछि पनि समस्या समाधान नभए अर्को चरणको आन्दोलन थालिनेछ ।’ सबै राहत शिक्षकलाई स्थायी गर्नुपर्ने, शिक्षक सेवा आयोगले विज्ञापन गर्दा राहत शिक्षकको हकमा उमेर हदबन्दी नलगाउनुपर्नेलगायत माग राखिएको उनले बताए । संसद्मा पेश गरिएको सङ्घीय शिक्षा विधेयक–२०७५ को मस्यौदाले झण्डै डेढ दशकदेखि कार्यरत राहत शिक्षकलाई पूर्णरूपमा उपेक्षा गरिएको भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । चौधरीले राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकलाई एकमुष्ट स्थायी, स्थायी प्रक्रियाको थालनी गर्नु पूर्व राहत शिक्षक सम्बन्धी हालको शिक्षा ऐन तथा नियमावलीले गरेका व्यवस्थाको स्वामित्व निर्माणाधीन ऐनले ग्रहण गर्ने, स्थायी प्रक्रिया शुरू गर्नु पूर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकको उमेरको हदबन्दी हटाइनुपर्ने बताए ।