पाँचथर/ चिट्ठीपत्र वितरणमा जिल्ला हुलाक कार्यालयले लापरबाही गरेको भेटिएको छ । फिदिमस्थित कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्थाले साधारणसभामा उपस्थितिका लागि हुलाक मार्फत पठाएको पत्र संस्थालाई नै फिर्ता पुर्याएको पाइएको हो ।

फिदिम बजारमै घर भएका लेखनाथ खतिवडाको नाममा पठाइएको पत्र मानिस नभेटिएको भन्दै पत्र पठाउने संस्थालाई नै हुलाकले फिर्ता दिएको हो । पत्रकार महासंघ पाँचथर शाखाका पूर्व अध्यक्ष समेत रहेका खतिवडा फिदिमदेखि प्रकाशित हुँदै आएको मेची पोष्ट दैनिकका प्रकाशक हुन् । आठ रुपैंयाँको टिकट टाँसिएको चिट्ठीको खाममा हुलाकका कर्मचारीले ‘लेखिएको ठेगानामा खोज तलास गर्दा मानिस फेला नपरेको हुँदा प्रेषकलाई फिर्ता गरिएको छ’ लेखेर कार्यालयमा आइपुगेको उक्त बचत तथा ऋण सहकारी संस्थाका सचिव रामबहादुर गुरुङले बताए । संस्थाको भदौ ३० गते हुने साधारणसभाका लागि उक्त पत्र पठाएको उनको भनाई छ । त्यसपछि उक्त चिट्ठी कार्यालयले नै आफूकहाँ पुर्याएको पत्रकार खतिवडाले बताए । उनले भने– ‘बजारमै रहेको घर वा पत्रिकाको कार्यालयमा छोडे पनि हुन्थ्यो, यसले हुलाकका कर्मचारीको चरम लापरबाहीको पुष्ठि हुन्छ ।

चिट्ठीपत्र वितरणमा यस किसिमको लापरबाहीले कतिपय महत्वपूर्ण चिट्ठीपत्र हात नपर्ने र सम्बन्धित संघ–संस्था र व्यक्तिलाई मार पर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।