बिर्तामोड । बिर्तामोडको बिएण्डसी हस्पिटलले स्थानीय मोहनमाया माध्यमिक विद्यालयको भवन निर्माण गरिदिने भएको छ । बिएण्डसीले २५ लाख रुपैंयाँको लागतमा बिद्यालयमा दुई कोठे भवन निर्माण गरिदिने भएको हो । भवन अभावका कारण बिद्यालयको पठन पाठन प्रभावित हुदै आएको छ । बिद्यालयको अनुरोध अनुसार झण्डै २५ लाख लागतको भवन निर्माण गर्ने योजना रहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए । उनले सामाजिक उत्रदायित्व बहन गर्नका लागि बिद्यालयलाई सहयोग गर्न तयार भएको बताए । त्यस्तै अन्य दुइजना दाताले पनि सोही बिद्यालयमा एउटा व्लक निर्माण गरिदिने बचन दिएको बिद्यालयले जनाएको छ । विद्यालयका सल्लाहकार देवी गिरीका अनुसार उनीहरुले असोजमा विद्यालयको पूर्व तर्फ रहेको पुरानो व्लक भत्काएर नयाँ र आधुनिक भवन निर्माण गरिदिने प्रतिवद्धता जनाएका छन् । विद्यालयले आयोजना गरेको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक समारोह तथा वाल दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको कार्यक्रममा अनारमनी श्रोत केन्द्रका श्रोतव्यक्ती केशर वहादुर खवासले मोहनमायाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर वाँकी नराखेको बताउँदै यस क्षेत्रको मात्र नभई झापाकै अब्बल विद्यालय भएको बताए । उनले नेपालका उत्कृष्ट सामुदायिक विद्यालयहरु मध्ये मोहनमाया पनि एक भएको दावी उनले गरे । कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्रधानाध्यापक विन्दू श्रेष्ठले मोहनमायाले दाताकै सहयोगमा भौतिक लगायत शैक्षिक क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताउँदै यस वर्षबाट प्रविधिक शिक्षाको सुरुवात गर्नु आफैंमा राम्रो भएको बताइन् । मोहनमायाले यस वर्षबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ (तीन वर्षे)कोर्ष सुरु गरेको छ । प्राविधिक शिक्षा व्यवस्थापन समिति अध्यक्ष समेत रहेकी श्रेष्ठले असोजको पहिलो हप्ताबाट कक्षा सञ्चालन हुने समेत जानकारी दिइन् । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शेरवहादुर श्रेष्ठले विद्यालयको आय व्यय सार्वजनिक गरेका थिए । विद्यालयको आय तर्फ दुई करोड २९ लाख २ हजार ५ यस ३३ रुयैयाँ एक पैसा र खर्च २ करोड १९ लाख १ हजार ५ सय १३ रुपैयाँ भएको जानकारी गराएका थिए । ब्यवस्थापन समितिका अध्यक्ष नारायण राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य तथा २ नम्वर वडा सदस्य उपेन्द्र पराजुली लगायतले बोलेको विद्यालयका शिक्षक पुण्यप्रसाद भण्डारीले जानकारी दिए । विद्यालयकी शिक्षक सीतादेवी लावतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक भवानी प्रसाद राजवंशी गरेका थिए । सो अवसरमा विद्यार्थीले साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका थिए ।