विराटनगर । दलालले आकर्षण तलब र सेवा सुविधा दिने भन्दै ललाई फकाइ गरि अवैध बाटोको प्रयोग गर्दै विदेश पठाएका चार जना नेपाली चेलीको उद्धार गरिएको छ ।
प्रहरी र विभिन्न संघसंस्थाको सहयोगमा विराटनगर महानगरपालिका– १५ स्थित १ नम्बर ढाटबाट चेलीहरुको उद्धार गरिएको हो ।
विराटनगरबाट जोगवनीको बाटो प्रयोग गरि भारत हुँदै ओमन र दुवइतर्फ जाने क्रममा धनकुटा नगरपालिका – १० बस्ने ३७ बर्षीया, दमक नगरपालिका –१ बस्ने २० बर्षीया, धनकुटा नगरपालिका– ३ बस्ने २४ बर्षीया र काठमाण्डौ महानगरपालिका–३५ बस्ने २८ बर्षीया चेलीहरुको उद्धार गरेको इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । ‘अवैध बाटो प्रयोग गरि विदेश हिडेको विशेष सूचना आयो,’ प्रहरी निरीक्षक सन्तोष निरौलाले भने, ‘त्यही सूचनाको आधारमा सोधपुस गर्ने क्रममा भन्सार नाकाबाट उद्धार गरियो ।’ नेपाली चेलीको उद्धार गरिएपनि उनीहरुलाई अवैध बाटोको प्रयोग गरि विदेश पठाउने एजेन्ट झापा दमका किरुण गुरुङ भने फरार छन् । प्रहरीले उनको तिव्र खोजी गर्दै आएको प्रहरी निरीक्षक निरौलाले बताए । एजेन्ट गुरुङले नेपाली चेलीहरुलाई विदेश पठाएवापत मोटो रकम प्राप्त गर्ने भएकोले अवैध बाटोको प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘विदेश जाने चेलीहरुको सबै खर्च एजेन्टले व्यहोर्ने गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ,’ निरौलाले भने, ‘चेलीहरु भारत पुगेपछि पासपोर्ट दिने र विदेश पठाउने गरेको खुलेको छ ।’
प्रहरीले साना हात नामक संस्था र विश्व सेवा बिस्तार संस्थाको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई विश्वसेवा बिस्तार संस्थाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।
यस अघि समेत अवैध बाटो रोज्दै विदेश हिडेका चलीहरुको विभिन्न संघसंस्थाको सहयोगमा प्रहरीले पक्राउ गर्दै आएको अभिलेखमा देखिन्छ ।
सानो हात नेपाल नामक संस्थाले चालु आर्थिक वर्षको साउनदेखि भदौ २८ गतेसम्म २० जनाको उद्धार गरेको स्टेशन मेनेजर विवस श्रेष्ठले जानकारी दिए । उनका अनुसार आर्थिक वर्षमा १ सय २४ जनाको उद्धार गरेको बताए । जसमा ९ जना दलाल कारवाहीको दायरामा आएको सानो हात नेपाल संस्थाको तथ्याङ्गकमा देखिन्छ ।