राजविराज/ जिल्ला प्रहरी कार्यालय सप्तरीले सीमाक्षेत्रबाट ठूलो परिमाणमा बरामद गरेको मदिरा बुधबार नष्ट गरेको छ । विगत एक साताको अवधिमा बरामद गरिएको कस्तुरी मदिरा ५ हजार बोतल र सौफी मदिरा ५ हजार गरी १० हजार बोतल मदिरा बुधबार पत्रकारको रोहवरमा नष्ट गरिएको हो । यद्यपि मदिरा ओसार–पसारमा संलग्न तस्कर भने फरार रहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । भारततर्फ अवैध रूपमा चोरी निकासी हुने मदिरा नियन्त्रणका लागि सीमाक्षेत्रमा निगरानी र गस्तीलाई निरन्तरता दिई कडाइ गरिएको जानकारी दिए । भारतको विहार राज्यतर्फ मदिरा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सीमाक्षेत्रमा निगरानी बढाएपछि प्रहरीले सो सफलता हात पारेको हो । भारतको विहार राज्यमा २०१६ अप्रिल १ देखि मदिरा बिक्री वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । जसका कारण नेपाल र भारतका तस्कर मिलेर अवैध रूपमा नेपाली मदिरा भारततर्फ ओसार–पसार गर्ने गरेका छन् । प्रहरीले प्राप्त सूचनाका आधारमा दशगजा क्षेत्रमा निगरानी बढाएको प्रहरी उपरीक्षक विष्टले बताए ।