उदयपुर/उदयपुरको गाउँपालिकाहरुमा विद्युत र इन्टरनेटको अभावले गाउँपालिकाका कामकाज प्रभावित हुने गरेको छ ।

महत्वपूर्ण कागजातहरु सुरक्षा र संरक्षणका लागि कम्प्यूटर आवश्यक भएपनि विद्युतको कारणले कम्प्युटर प्रयोग गर्न सकेको छैन । पालिकाको कागजपत्रहरु टाईप गरी प्रिन्ट गर्नुपर्ने र सम्बन्धीत निकायहरुमा इमेल आदानप्रदान गर्नुपर्नेमा बाधा भएको हो । भने गाउँमा विद्युत र इन्टरनेट नहुँदा यस्ता कामकाज प्रभावित भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । सरकारी कामकाजहरुमा कम्प्यूटर प्रयोग र अनलाईन सिस्टमबाट काम गर्नुपर्ने प्रावधान भएपनि लेखाको सुत्र सफ्टवेयर चलाउन, चेक काट्न, एकिकृत सम्पत्ती कर जम्मा गर्न र पञ्जिकरणका काम कम्प्युटर हुन सकेको छैन । विद्युत र इन्टरनेट नै नभएपछि धेरैजसो कामहरु पुरानै शैलीबाट ढड्डामा गर्नुपर्ने बाध्यता छ । उदयपुरका रौतामाई, लिम्चुङबुङ, ताप्ली र उदयपुरगडी चारवटै गाउँपालिकाको समस्या एउटै रहेको छ । विद्युतको विकल्पको रुपमा सोलार प्रयोग गरिएको छ भने इन्टरनेटका लागि सदरमुकाम नै धाउनु पर्ने बाध्यता रहेको प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताए ।

सोलार भरपर्दाे नहुने भएकाले जनताको काम प्रभावित हुने गरेको छ । विद्युत र इन्टरनेट अभावका कारण समयमा काम हुन नसक्दा जनताका गुनासा आउने गरेका छन् । प्रविधिका कठिनाई सँगै एकवर्ष पार गरिसकेका स्थानीय सरकारले विद्युत र इन्टरनेटका लागि बजेट छुट्याउने काम गर्नुका साथै प्रदेश, केन्द्र सरकार लगायत सम्बन्धीत निकायहरुमा पहल गरिरहेको अध्यक्ष खड्काले बताए । समय अनुसार राज्यले गाउँतहसम्म विद्युत, सडक, सञ्चार जस्ता आधारभूत आवश्यकताहरु पुर्याउन नसक्दा संघीय संरचनाका स्थानीय तहहरुको कामकाजमा कठिनाई परेको हो । स्थानीय तहहरुमा बैंक शाखा खोल्ने सरकरको नीति पनि विद्युत र इन्टरनेट अभावकै कारण कार्यन्वयन हुन सकेको छैन । भने बैंक नहुँदा गाउँपालिकाको आर्थिक क्रियाकलाप र स्थानीय जनता बैंकिङ सुविधाबाट बन्चित भएको छ ।