धरान । युनिफिकेसन चर्चको आयोजनामा भएको एसिया प्यासिफिक समीटमा आफ्नो उपस्थितिबारे नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टीकरण दिएका छन् ।

आइतबार बिहानको स्थायी समितिको बैठकमा नेता नेपापलले धर्म प्रचार गर्नु कार्यक्रमको उद्देश्य नभएको स्पष्ट पारे । उनले कार्यक्रमलाई लिएर गलत तथा नियोजित प्रचार मात्रै गरिएको टिप्पणी गरे । उनले मुलुकको संविधान विपरीत भएका कार्यक्रमहरूमा आफू संलग्न नहुने स्पष्ट पारे ।

उनले त्यो कार्यक्रमलाई भने संविधान विपरीत नभएको आसयको प्रतिक्रिया दिए । कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थिति भएर अवार्डसमेत लिएका थिए । उक्त कार्यक्रमको विषयमा पार्टीभित्रै आलोचना भएको थियो । केही नेताहरूले खुलेरै त्यसको विरोध गरेका थिए ।

तर, उपस्थित नेताहरूले भने उक्त कार्यक्रमको उद्देश्य धर्म प्रचार गर्नु नरहेको प्रतिक्रिया दिँदै आइरहेका छन् । यही सन्दर्भमा नेता नेपालले पनि स्पष्टीकरण दिएका हुन् । नेता नेपालको धारणाप्रति नेता भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, अग्नि सापकोटा, बेदुराम भुषाललगायतले असन्तुष्टि व्यक्त गरेका थिए ।

सामान्य रूपमा धर्म प्रचार गर्ने उद्देश्य नभए पनि धर्म प्रचारक संस्थाको कार्यक्रममा पार्टी तथा सरकारका तर्फबाट सहभागी बन्नु गलत भएको नेता भीम रावलले बताए ।