विराटनगर/ सहकारीको आडमा अवैध हुण्डीको कारोबार गर्ने विराटनगरस्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेश हेडा धरौटिमा छुटेका छन् ।

मोरङ प्रहरीले पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको दुई दिन वित्न नपाउँदै राजस्व अनुसन्धानले हेडालाई धरौटिमा छाडेका हुन् । अनुसन्धान कार्यालयले हेडा र उनका सहयोगी सुमित साहसँग ७० लाख रुपैयाँ धरौटी लिएपछि साधरण तारेखमा छोडेको छ ।

यसअघि हुण्डी कारोबार गर्ने गिरोहलाई अनुसन्धान कार्यालयले सम्पती सुद्धीकरणमा मुद्दा दायर गरेर सुक्ष्म रुपमा अनुसन्धान गर्दै आएको थियो । तर पहुँचवाला हेडा पक्राउ परेको दुई दिन बित्न नपाउँदै धरौटीमा छोड्नु शंकास्पद भएको विराटनगरका एक व्यापारीले बताए ।

‘यस अघि विराटगरका एक व्यापारी हुण्डी धन्दा चलाउँदा सम्पती सुद्धिकरणमा मुद्दा दायर गरिएको थियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘सहकारीको आड लिएर खुल्लेआम हुण्डीको कारोबार गरेको स्वीकार गर्दा समेत राजस्व अनुसन्धानले धरौटीमा छाडेको सुन्दा आश्र्चयमा पर्यौं ।’ हुण्डी कारोबार आरोपमा पक्राउ परेका अनुपचन्द सेठीया लामो समय थुनामा बसेर केही समय अगाडी मात्र रिहा भएका छन् ।

मोरङ प्रहरीले पुष २९ गते उक्त सहकारीमा छापामारेकोे थियो । प्रहरीले स्रोत खुल्न नसकेको ६९ लाख ५७ हजार ६ सय रुपैयाँ बरामद गरेको थियो । प्रहरीले ५९ लाख ७ हजार ६ सय रुपैयाँ हेडाको साथबाट र ९ लाख ५० हजार रुपैयाँ सुमित साहको साथबाट बरामद गरेको थियो ।

साह हेडाको निर्देशनमा हुण्डीको रकम सम्बन्धित ठाउँमा बुझाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । ‘बरामद गरेकोे रकम हुण्डी कारोबारमा प्रयोग गर्ने गरेको हेडाले प्रहरीलाई बयान दिएका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार हेडाले प्रत्येक दिन न्यूनतम २० देखी २५ लाख रुपैयाँ हुण्डी गर्दै आएको अनुसन्धानबाट खुलेको थियो ।
राजश्व अनुसन्धान कार्यालय सुनसरीका प्रमुख बेदराज फुयालले बरामद रकम बराबरको धरौटी लिएर साधरण तारेखमा छोडेको बताए ।

‘धरौटि बुझाएपछि साधरण तारेखमा छोडेका छौं,’ उनले भने, ‘तर पनि अहिले दैनिक रुपमा तारेखमा उनीहरू आउने गर्दछन् ।’ अनुसन्धानको लागि बयानमा उनीहरूलाई बोलाउने गरेको फुयालको भनाई छ । ‘प्रमाण र कारणहरू माग गर्दै आएका छौं,’ उनले भने, ‘अनुसन्धान चलिरहेको छ ।

खाली हिरासतमा राख्ने कामबाट मात्र मुक्त गरिएको हो ।’ हेडा र साह सँगै प्रहरीले सहकारीका म्यानेजर दिपक कर्णलाई समेत पक्राउ गरेको थियो । प्रहरीले कर्णको साथबाट पैसाँ भने बरामद गरेको थिएन् ।

हुण्डीको धन्दामा संलग्न नदेखिएपछि कर्णलाई भने साधरण तारखेमा छोडेका छन् ।