पथरीशनिश्चरे/मोरङको उर्लाबारीमा फागुन ७ गते हुने मिस धिमालका फाइनलिष्टहरू वेतेनी सीमसारमा रमाएका छन् ।  मिस धिमालमा २६ स्पर्धीहरू बन्द प्रशिक्षणमा छन् । यसक्रममा वेतेनी सीमसारमा फोटो सुटका क्रममा रमाएका हुन् ।

धिमाल जातीय विकास केन्द्रको भातृ सङ्गठन धिमाल विद्यार्थी मञ्चद्वारा आयोजित प्रतियोगिताको १० औं दिन पर्यटन प्रवद्र्धनसँग जोडेर उर्लाबारीस्थित वेतेनी सीमसारमा सहभागीहरूको फोटो सुट गरिएको हो । अल्पसङ्ख्यक धिमाल समुदायभित्र रहेका धिमाल युवतीहरूको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले मिस धिमाल प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रम संयोजक सुनिल धिमालले बताए ।

प्रतियोगितामा, नेपालका ५० जनाले आवेदन दिएका थिए । अडिसनमा सहभागीमध्ये छनौट गरेका उत्कृष्ठ २५ जनालाई माघ ६ गतेदेखि प्रशिक्षण प्रदान गरिएको सञ्चार संयोजक विजय धिमाल बताउँछन् । मिस धिमाल विजेताले नगद १ लाख, फस्ट रनरअपले ५० हजार, सेकेण्ड रनरअपले ३५ हजार नगदसहित पुरस्कार प्राप्त गर्नेछन् ।

टाइटलतर्फ मिस ट्यालेन्ट, पब्लिक च्वाइस, मिस क्याटवाक, मिस एक्टिभ, मल्टिमिडिया, मिस पर्सनालिटी, मिस फोटोजेनिक शीर्षकमा नगदसहितका पुरस्कार प्राप्त गर्नेछन् । यसअघि पहिलो मिस धिमाल सन् २०११ मा सम्पन्न भएको थियो ।

बिर्तामोडकी अनु धिमालले उपाधि जितेकी थिइन् ।